एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको दोस्रो जित

नेपालले कतारलाई ३२ रनले हरायो

जनसम्मत
वैशाख १, २०८१, शनिबार

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले दोस्रो जित निकालेको छ।

आज (शनिबार) नेपालले कतारलाई ३२ रनले हराएको हो।

नेपालले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७८ रन मात्र बनाउन सक्यो।

कतारका लागि महोम्मद तानवीरले ६३ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन्।

नेपालका लागि ललित राजवंशी, गुल्सन झा र दिपेन्द्रसिंह ऐरीले सामान २/२ विकेट लिए।

यस्तै, कुशल मल्ल र अविनाश बोहोराले सामान १/१ विकेट लिए।

यसअघि, दिपेन्द्रसिंह ऐरीको एकै ओभरमा ६ छक्काको मद्दतमा एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई २ सय ११ रनको लक्ष्य दिएको थियो।

ओमानको अल अमिरातमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनाएको थियो।

दिपेन्द्रले २० औं ओभरमा ६ वटा छक्का प्रहार गर्दै २१ बलमा ६४ रन बनाए।

यस्तै, आशिफ शेषले ५२ र कुशल मल्लले ३५ रनको योगदान गरे।

ओमानका हिमान्सु राथोड र मुसवार साहले सामान ३/३ विकेट लिए।

यो जितसँगै नेपाल २ खेलबाट ४ अंक बटुल्दै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ।

अब, नेपालले सोमवार हङकङसँग र वैशाख ४ गते बुधवार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्दैछ।

लगातार २ जितसहित यूएई समूह ‘बी’ को शीर्ष स्थानमा छ।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ।

यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन्।

यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन्।

समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्।

फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ।