एसीसी प्रिमियर कप क्रिकेटको समूह चरणमा नेपालले ४ वटै खेल जित्यो

अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले हरायो, हङकङ पनि सेमिफाइनलमा

जनसम्मत
वैशाख ५, २०८१, बुधबार

ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटको समूह चरणका खेलहरुमा नेपालले ४ वटै खेल जितेर समूह विजेता बन्यो।

लगातार समूहको खेल जित्दै आएको नेपालले तेस्रो खेलमा हङकङलाई हराएसँगै नेपाल समूह विजेता बनिसकेको थियो।

आज (बुधबार) नेपालले साउदी अरबलाई ६ विकेटले हरायो।

यो जितसँगै नेपाल समूह विजेता बनेको छ।

पानी परेपछि ८ ओभरमा झारिएको खेलमा साउदीले नेपाललाई ७४ रनको लक्ष्य दिएको थियो।

७४ रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदै ४ विकेट गुमाएर भेटायो।

नेपालका लागि गुल्सन झाले अविजित २८ बनाए।

त्यस्तै, कप्तान रोहित पौडेलले १६ रन बनाए।

साउदीका इस्तिक अहमदले २ विकेट लिए।

यसअघि, साउदी अरबले ६ विकेट गुमाएर ७३ रन बनाएको थियो।

उसका लागि अब्दुल वासिदले १६ बलमा ३७ रन बनाए।

अन्य कुनै खेलाडीले पनि दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका करण केसी र अविनाश बोहराले समान २/२ विकेट लिए।

त्यस्तै, प्रतिश जिसी र ललित राजवंशीले समान १/१ विकेट लिए।

समूह चरणमा नेपालले चारवटै खेल जितेर अपराजित हुँदै सेमिफाइनलमा पुगेको छ।

आजको नेपालको जीतले हङकङ पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

सेमिफाइनलमा पुग्न आज साउदीले नेपाललाई हराउनैपर्ने थियो।

तर, साउदी नेपालसँग हार्दा हहङकङ सेमिफाइनलमा पुगेको हो।

आजै भएको अर्को खेलमा हङकङले मलेसियालाई सात विकेटले पराजित गरेको छ।

मलेसियाले दिएको १ सय ४१ रनको लक्ष्य हङकङले १२ ओभर १ बलमा ३ विकेट गुमाएर लक्ष भेटायो।

सेमिफाइनलका खेल शुक्रवार, तेस्रो स्थानको खेल शनिवार र फाइनल खेल आइतवार हुनेछ।

यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ।