एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल सेमिफाइनलमै रोकियो

यूएईसँग ६ विकेटले पराजित, गुम्यो एसिया कप खेल्ने अवसर

जनसम्मत
वैशाख ७, २०८१, शुक्रबार

साविक विजेता नेपाल एसीसी प्रिमियर कप क्रिकेटबाट बाहिरिएको छ।

साविक विजेता नेपाल आज (शुक्रबार) भएको सेमिफाइनलमा यूएईसँग ६ विकेटले पराजित भएको हो।

यो हारसँगै नेपालले एसिया कपमा छनोट हुने अवसर पनि गुमाएको छ।

यो प्रतियोगिताको विजेता टोलीले एसिया कप खेल्न पाउनेछ।

नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलको यात्रा तय गरेको थियो।

ओमानको अल अमरित क्रिकेट मैदानमा नेपालले दिएको १२० रनको लक्ष्य यूएईले १७.२ ओभरमा ४ विकेट गुमाएर लक्ष भेटायो।

यूएईका लागि अलिशान शराफुले सर्वाधिक ५५ रन बनाए।

विष्णु सुकुमारनले २८ रनको योगदान गरे।

कप्तान मोहम्मद वसिमले ११ रन बनाए।

साथै, सैयद हैदरले १४ रन जोडे।

नेपालका लागि गुल्शन झाले २ तथा सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए।

यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पूरै ओभर खेलेर ९ विकेट क्षतिमा ११९ रन बनाएको थियो।

नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाए।

उनले ४० बलमा ४ चौका र २ छक्काको मद्दतमा ५० रन जोडे।

गुल्शन झाले २०, करण केसीले १७ रन बनाए।

अन्यको प्रदर्शन उल्लेख्य बन्न सकेन।

ओपनर कुशल भुर्तेल गोल्डेन डकआउट हुँदा आसिफ शेखले ८ रन बनाए।

कप्तान रोहितकुमार पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५ र सोमपाल कामी २ रनमा आउट भए।

यूएईका लागि जुनैद सिद्दिकी, अली नसीर र बासिल हमिदले २/२ विकेट लिए।