म्याग्दीको कालीपुलस्थित पर्यटक सूचना केन्द्रमा डिजिटल बोर्डको माग

जनसम्मत
वैशाख ६, २०८१, बिहीवार

म्याग्दी उद्योग वाणिज्य संघले कालीपुल बसपार्कमा पुनःसञ्चालन गरेको पर्यटक सूचना केन्द्रमा डिजिटल बोर्ड स्थापनाका लागि गण्डकी प्रदेश सरकारसँग माग गरेको छ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङको टोलीलाई म्याग्दी आएको क्रममा संघका अध्यक्ष सुविन श्रेष्ठ लगायतका पदाधीकारीहरुको टोलीले मागपत्र बुझाएको हो।

सचिव गुरुङ, उपसचिव रामप्रसाद आचार्य, योजना अधिकृत विमल गौतमलगायतले सूचना केन्द्रको अवलोकन समेत गरे।

म्याग्दीमा भित्रिने पर्यटकहरुलाई जिल्लाका धार्मिक, पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डले बेनपा–८ कालीपुल बसपार्कमा वैशाख १ गतेदेखि सुचना केन्द्र संचालन गरिएको थियो।

म्याग्दी भ्रमण वर्षको अवसरमा २०७५ मा स्थापना भएको सूचना केन्द्र कोरोना महामारी फैलिएपछि वि.स. २०७७ देखि बन्द भएको थियो।

३ वर्षपछि पुनःसंचालनमा ल्याइएको सूचना केन्द्रमा १ जना कर्मचारी राखिएको छ।

म्याग्दीका ६ वटै स्थानीय तहका पर्यटकीय, धार्मिक स्थलका साथै जनजीवन, संस्कृति, रहनसहन झल्कने तस्वीर, त्यसको महत्व, अवस्थिति, पुग्न लाग्ने समय र खान बस्नको सुविधा लगायत विषयमा जानकारीमुलक बोर्ड राखिएको छ।