यूएईले जित्यो, एसीसी प्रिमियर कपको उपाधि

यससँगै, ओमान, यूएई र हङकङ इमर्जिङ कपमा छनोट भएका छन्

जनसम्मत
वैशाख १०, २०८१, सोमबार

एसीसी प्रिमियर कपको उपाधि यूएईले जितेको छ।

घरेलु टोली ओमानलाई ५५ रनले हराउँदै यूएई उपाधिसहित एसिया कप २०२५ का लागि छनोट भएको हो।

यूएईले दिएको २ सय ०५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४९ रन मात्र बनाउन सक्यो।

ओमानका लागि प्रतिक अथावालेले सर्वाधिक ४९ रन बनाए।

यूएईका लागि जुनेद सिद्दिकीले ३ विकेट लिए भने मुहम्मद फरूक र आयन खानले २÷२ विकेट लिए।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ०४ रन जोड्यो।

यूएईका लागि कप्तान मुहम्मद वासिमले १ सय रनको शतकीय इनिङ खेले।

ओमानका लागि बिलाल खानले २ विकेट लिए।

यसअघि, यूएईले अन्तिम ४ मा नेपाललाई हराएको थियो भने ओमानले हङकङलाई हराउँदै फाइनलमा आफ्नो स्थान तय गरेको थियो।

यसबाहेक ओमान र यूएई इमर्जिङ कपमा छनोट भइसकेका छन्।

हङकङले शनिवार तेस्रो स्थानको खेलमा नेपाललाई हराउँदै इमर्जिङ कपमा स्थान बनाएको थियो।