सहारा क्लवले पोखरा स्पोर्ट्सको ‘वर्ष उदीयमान खेलाडी अवार्ड’को पुरस्कार प्रायोजन गर्ने

‘वर्ष उदीयमान खेलाडी अवार्ड’को पुरस्कार स्वरूप ५० हजार सहयोग गर्ने गरी सहारा क्लवबाट बुधबार सम्झौता–पत्रमा हस्ताक्षर

जनसम्मत
वैशाख १२, २०८१, बुधबार

पोखरा स्पोर्ट्सको ‘वर्ष उदीयमान खेलाडी अवार्ड’को पुरस्कार सहारा क्लवले प्रायोजन गर्ने भएको छ।

पोखराको प्रतिष्ठित सहारा क्लवले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ अन्तर्गत ‘वर्ष उदीयमान खेलाडी अवार्ड’ लाई प्रायोजन गर्ने प्रतिबद्धता जनाउँदै यस बर्ष पनि अवार्ड कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने बताएको छ।

सहारा क्लवबाट ‘वर्ष उदीयमान खेलाडी अवार्ड’को पुरस्कार स्वरूप ५० हजार सहयोग गर्ने गरी बुधबार सम्झौता भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ।

पोखरा–१७ दोबिल्लामा रहेको सहारा एकेडेमीमा आयोजित उक्त सम्झौता कार्यक्रममा क्लवका अध्यक्ष केशवराज बराल र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालबीच सम्झौता–पत्रमा हस्ताक्षर भएको हो।

सम्झौता कार्यक्रममा सहारा क्लवका पूर्व अध्यक्ष वीरभद्र आचार्य, मञ्चका पूर्व अध्यक्ष केशव पाठक, पूर्व सल्लाहकार शुदर्शन रञ्जित, सदस्य रोहितराज पराजुली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, क्लवका मानार्थ सदस्य एवं समाजसेवी महेश गुरुङ, लोक गुरुङ, मुछेत्र गुरुङलगायतको सहभागिता थियो।

क्लवले सुरूवातदेखि उक्त बिधामा पुरस्कार प्रायोजन गर्दै आएको बताउँदै अध्यक्ष बरालले क्लबको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरे।

क्लवका अध्यक्ष बरालले खेलकुद क्षेत्रको लागि ठूलो इभेण्ट भएकोले आफूहरुले विगतका बर्षदेखि सहयोग गर्दै आएको उल्लेख गरे।

यसैबीच, पोखरा महानगरपालिका वडा नम्बर १५ बाट उक्त पोखरा स्पोट्र्स अवार्डको लागि २५ हजार सहयोग उपलब्ध गराउने भएको अध्यक्ष तोरणबहादुर बानियाँले बताए। जिल्ला खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका बानियाँले उक्त अवार्डले खेलाडीलाई प्रोत्साहन गर्ने भएकोले यसलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।

आठौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताए।

गण्डकी प्रदेश सरकारको विशेष सहयोग तथा पोखरा महानगरपालिकासँगको सहकार्यमा अवार्ड कार्यक्रम हुँदैछ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रादेशिक कार्यालयले अवार्ड कार्यक्रमको प्रबद्र्धन गर्दैछ।

पोखरा लेकसाइडमा रहेको मझेरी रिसोर्ट एण्ड स्पा अफिसियल रिसोर्टको रुपमा रहेको छ।

यसका अलावा राष्ट्रिय खेलकुद परिषद्, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, मादी गाउँपालिका, रुपा गाउँपालिका, मुस्ताङ गल्फ कोर्ष, गुरुङ हर्वल व्युटी पार्लरलगायतले सघाउने भएका छन्।

थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ।

टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमा माई मोटर्स प्रालिले अवार्ड कार्यक्रमलाई सहयोग गर्दैछ।