ताइपेसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बराबरी खेल्यो

बिहिबार भएको खेलमा नेपालले चाइनिज ताइपेसँग १–१ गोलको बराबरी खेल्यो

जनसम्मत
जेठ २४, २०७६, शुक्रबार

पोखरा । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा आफूभन्दा ३६ औं स्थान माथिको चाइनिज ताइपेसँग बराबरी खेलेको छ । बिहिबार भएको खेलमा नेपालले चाइनिज ताइपेसँग १–१ गोलको बराबरी खेल्यो ।

फिफा वरीयतामा १२५ औं स्थानमा रहेको चाइनिज ताइपेविरुद्ध नेपालले सुरुवाती गोलको अग्रता उल्टाएर बराबरी खेलेको हो । १६१ औं स्थानमा रहेको नेपाल पहिलो हाफमा १–० ले पछि परेपनि दोस्रो हाफमा अभिषेक रिजालको गोलबाट खेलमा फर्किएको थियो ।

खेलको ४० औं मिनेटमा उ चुन चिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको ६९ औं मिनेटमा अभिषेकले हेड गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । सन्तोष तामाङको फ्रिकिकमा अनमार्क रहेका अभिषेकले गोल गरेका हुन् । राष्ट्रिय टोलीका लागि यो उनको पहिलो गोल हो ।

पहिलो पटक नेपाली टोलीमा परेका अभिषेकले दोस्रो खेलमै गोल गरेका हुन् । अभिषेकले यसै साता मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका थिए । उक्त खेलमा नेपाल २–० ले हारेको थियो ।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मलेसिया र चाइनिज ताइपेसँग मैत्रीपूर्ण खेल खेलेको हो । मुख्य प्रशिक्षक योहान कालिन आएपछि नेपालले चौथो खेलपछि गोल गरेको हो । यस अगाडिका तीन खेलमा नेपालले गोल गर्न सकेको थिएन ।