पोखरा महानगरस्तरिय अन्तरविद्यालय छात्रा क्रिकेट शनिबारदेखि सुरु

प्रतियोगितामा पोखराका ९ विद्यालयले प्रतिस्पर्धा गर्नेछन्

जनसम्मत
वैशाख १३, २०८१, बिहीवार

पोखरा महानगरस्तरिय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि हुँदैछ ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनामा प्रतियोगिता हुन लागेको हो।

यहि बैशाख १५ देखि २१ गतेसम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको आयोजक समितिले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो।

महिला क्रिकेटलाई प्राथमिकतामा राख्दै ग्रास रुटबाट क्रिकेटको विकास गर्न र विद्यालयबाट पनि होनहार प्रतिभाको खोजी गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको आयोजक महानगर खेलकुद विकास समितिले जनाएको छ।

प्रतियोगिताबाट सन् २०२७ को टि–२० अन्तर्गत यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि पोखराबाट खेलाडी उत्पादन गर्ने लक्ष लिइएको पत्रकार सम्मेलनमा बताइएको छ।

पोखरालाई क्रिकेटका माध्यमबाट पनि परिचित गराउने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष दिपबहादुर गोदारले पत्रकार सम्मेलनमा बताए।

प्रतियोगितामा पोखराका विभिन्न ९ विद्यालयलाई सहभागिता गराइने प्रतियोगिताको संयोजनकर्ता पोखरा महानगर क्रिकेट समितिका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए।

सहभागि टिमलाई ३ समूहमा विभाजन गरी लिग कम नक–आउटका आधारमा खेलाइने गोदारले जनाए।

प्रतियोगितामा सहभागी विद्यालयले कम्तिमा पनि २ खेल खेल्नेछन्।

लिग चरणमा शीर्ष स्थान हासिल गर्ने हरेक समूहबाट एक विद्यालय सेमिफाइनल प्रवेश गर्नेछ।

शीर्ष ३ मध्ये उच्च रन रेट प्राप्त टिम सिधै फाइनलमा पुग्नेछ।

प्रतियोगितामा त्रिभुवन शान्ति मावि, वाराही मावि, सिद्ध मावि, कालिका मावि, जनप्रकाश मावि, भद्रकाली मावि, अम्मरसिंह मावि, छोरेपाटन मावि र सिर्जना माविले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिताका विजेता तथा उपविजेता टिमले ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।

त्यसैगरी, हरेक खेलमा ‘वुमन अफ द म्याच’ र ‘वुमन अफ द सिरिज’, ‘बेष्ट व्याट्स वुमन’, ‘बेष्ट बलर वुमन’ लगायतलाई छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने छ।

सो अवसरमा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, प्रतियोगिता संयोजक गोविन्द प्रधान, प्रतियोगिताको मुख्य प्रायोजक कंगारु एजुकेशन फाउण्डेशनका निर्देशक टीआर काफ्लेलगायतले प्रतियोगिताको सफलताका लागि शुभकामना व्यक्त गरे।