पोखरामा शनिबारदेखि दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसीप हुँदै

प्रतियोगितामा १५ देशका ३८ पुरुष र २४ महिला गरी कूल ६२ भन्दा बढि खेलाडीले प्रतिस्पर्धा गर्नेछन्

जनसम्मत
वैशाख १४, २०८१, शुक्रबार

पोखरामा भोलि (शनिबार)देखि दक्षिण एसियाली ट्रायथलन च्याम्पीयनसीप हुँदैछ।

नेपाल ट्रायथलन एशोसियसन (एनटीए) को आयोजनामा पोखरामा चौथो संस्करणको एसिया कप पुरुष तथा महिला ट्रायथलन हुन लागेको आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा बताइएको छ।

साथै, यो दक्षिण एसियाली ट्रायथलन च्याम्पीयनसीप हुने आयोजकले बताएको छ।

आयोजकका अनुसार कोरोनाका कारण २ वर्ष रोकिएको च्याम्पियनसीप यस वर्ष हुन लागेको हो।

प्रतियोगिताको तयारी पूरा भएको आयोजक नेपाल ट्रायथलन एशोसियसन (एनटीए)ले पत्रकार सम्मेलनमा जनाएको छ।

प्रतियोगितामा १५ देशका ३८ पुरुष र २४ महिला गरी कूल ६२ भन्दा बढि खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक डिल्लीराज सुवेदी (शिशिर)ले जानकारी दिए।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, उज्वेकिस्तान, काजाकस्तान, मरिसस, अष्ट्रेलिया, यूएई, प्यालेस्टाइन, उरुग्वे, अष्ट्रिया, अल्जेरिया, न्यूजिल्याण्ड, लक्जम्बर्ग र टोगोका खेलाडीले प्रतिस्पर्धा गर्ने उनले बताए।

महिला र पुरुष गरेर २ फरक स्पर्धामा हुने प्रतियोगिताका लागि खेलाडी र अतिथिहरु पोखरा आइसकेको उनको दाबी छ।

पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाईडलाई केन्द्रीत गरेर आयोजित च्याम्पियनसीपको स्प्रिन्ट विधा अन्तर्गत ७ सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड हुनेछ।

स्विमिङ फेवातालमा हुनेछ भने दौड गौरीघाट, सहिदचोक, मुस्ताङचोक, विरौटा, ड्यामसाईड हुँदै पुनः गौरीघाटमै पुगेर समापन हुने संयोजक सुवेदीले बताए।

प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने पोखरा पर्यटन परिषदले जनाएको छ।

परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले भने, ‘खेलाडी र अतिथिहरु आएपछि पर्यटनमा सघाउ त पुग्छ नै। त्यो भन्दापनि बढी प्रतियोगिताले खेल पर्यटनको माध्यमबाट पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ।’

प्रतियोगिताको च्याम्पियनले ६ सय ३० अमेरिकी डलर अर्थात करीब ८४ हजार नेपाली रुपैयाँ, द्वितीय हुनेले ५२५ डलर अर्थात करीब ७० हजार नेपाली रुपैयाँ, तृतीय हुनेले ४२० डलर अर्थात करीब ५६ हजार नेपाली रुपैयाँ, चौथो हुनेले ३१५ डलर अर्थात ४२ हजार नेपाली रुपैयाँ र पाचौं हुनेले २१० डलर अर्थात करीब २८ हजार नेपाली रुपैयाँ पुरस्कार पाउने नेपाल ट्रायथलन एशोसिएसन (एनटीए) का उपाध्यक्ष सुमन देवकोटाले जानकारी दिए।

प्रतियोगिता सम्पन्न गर्न करीब ७० लाख खर्च हुने अनुमान गरिएको नेपाल ट्रायथलन एशोसिएसन (एनटीए) का महासचिव युवराज सुनुवारले जानकारी दिए।

उनका अनुसार प्रतियोगिताको कूल पुरस्कार राशीमात्रै ४ हजार २ सय डलर अर्थात करीब ५ लाख ५८ हजार नेपाली रुपैयाँ रुपैयाँ खर्च लाग्नेछ।