गण्डकी प्रदेश प्रहरी प्रमुख बनेर आइन् डीआइजी दुर्गा सिंह चन्द

डीआइजी विकास खनालका उमेर हदका कारण अवकास

जनसम्मत
वैशाख १४, २०८१, शुक्रबार

गण्डकी प्रदेश प्रहरीको नयाँ प्रमुखका रुपमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंह चन्द आउने भएकी छिन्।

डीआईजी विकासराज खनालको उमेर हदका कारण अवकास भएपछि गएको बैशाख ७ गतेदेखि रिक्त रहेको गण्डकी प्रदेश नयाँ प्रमुखको जिम्मेवारी डीआईजी दुर्गा सिंहले पाएकी छिन्।

बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट डीआईजी सिंहलाई गण्डकी प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय भएको हो।

डिआइजी दुर्गा सिंह हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत छिन्।

गृहमन्त्रीले विभिन्न ६ एसएसपीको पनि सरुवा गरेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा एसएसपी वसन्त रजौरे सरुवा भएका छन्।

यसअघि, उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए।

यसैगरी, परिसरको हालका प्रमुख भूपेन्द्र खत्रीको प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा सरुवा भएको छ।

यसैगरी, उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी सानुराम भट्टराईको सरुवा भएको छ।

यसअघि, अपराध अनुसन्धान कार्यालयमा सोमेन्द्र सिंह राठौर थिए।

यस्तै, तालिम केन्द्र विराटनरगमा एसएसपी अभिनारायण काफ्लेको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।