इजिप्टका सिफेलडिन इसमाइल बने एसिया कप ट्रायथलन च्याम्पियन

इसमाइलले ट्रायथलन स्प्रिन्ट विधाको निर्धारित दूरी ५६ मिनेट ४५ सेकेण्डमा पूरा गरे

जनसम्मत
वैशाख १५, २०८१, शनिबार

इजिप्टका सिफेलडिन इसमाइल पोखरामा सम्पन्न एशिया कप ट्रायथोलनको च्याम्पियन बनेका छन्।

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा भएको ट्रायथलनको पुरुषतर्फ इसमाइल च्याम्पियन बनेका हुन्।

पुरुषतर्फका च्याम्पियन इसमाइलले ट्रायथलनको स्प्रिन्ट विधाअन्तर्गत फेवातालमा ७ सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौडको निर्धारित दूरी ५६ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै च्याम्पियन बने।

च्याम्पियन इसमाइलले ६ सय ३० अमेरिकी डलर अर्थात करीब ८४ हजार नेपाली रुपैयाँ पुरस्कार जिते।

उक्त स्पर्धामा अष्ट्रेलियाका ब्रुक्किन हेनरीले ५७ मिनेट १० सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै दोस्रो भए।

हेनरीले ५२५ डलर अर्थात करीब ७० हजार नेपाली रुपैयाँ पुरस्कार जिते।

त्यस्तै, जापानका मिट्सुहो मोचिजुकीले निर्धारित दूरी ५७ मिनेट २५ सेकेण्डमा पूरा गर्दै तेस्रो भए।

मोचिजुकीले ४२० डलर अर्थात करीब ५६ हजार नेपाली रुपैयाँ पुरस्कार जिते।

विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, वल्र्ड ट्रायथोलन संघका अध्यक्ष मारिसोल कासडो, महासचिव एन्टोनियो आरामानी, नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दीपक कोइराला, नेपाल ट्रायथलन संघका संस्थापक अध्यक्ष गणेशमान पुन, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा, ट्रायथलन संघका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटा, महासचिव युवराज सुनुवार, केन्द्रीय सदस्य अनिता रानाभाट स्थानीय व्यवस्थापन समितिका संयोजक डिल्लीराज सुवेदी (शिशिर) लगायतले पुरस्कार तथा मेडल वितरण गरे।

यसअघि, पोखरा महानगरका प्रमुख धनराज आचार्यले प्रतियोगिताको उद्घाटन गरेका थिए।