आज, टीभीएस अपाचे चौथो स्पोर्टस् अवार्ड

पोखरा सभागृहमा शुक्रबार दिउँसो १ बजे हुने सो कार्यक्रम मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न हुँदैछ, निर्धारित समय १ घण्टा अघि सारिएको हो

जनसम्मत
जेठ २४, २०७६, शुक्रबार

पोखरा । टीभीएस अपाचे चौथो संस्करणको पोखरा स्पोर्टस् अवार्ड आज हुँदै छ ।

पोखरा सभागृहमा शुक्रबार दिउँसो १ बजे हुने सो कार्यक्रम मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न हुँदैछ । निर्धारित समय १ घण्टा अघि सारिएको हो ।

अवार्ड कार्यक्रमलाई सफल बनाउन यतिखेर आयोजक नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी सक्रियतासाथ लागेको छ । मञ्चका अध्यक्ष एकराज गिरीले अवार्ड कार्यक्रमलाई कुनै कमी कमजोरी हुन नदिने बताएका छन् ।

लगातार तीन संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको मञ्चले यसपालि गण्डकी प्रदेशस्तरकै अवार्ड कार्यक्रममा लाइफ टाइम अचिभमेन्टसहित विभिन्न ८ विधामा अवार्ड प्रदान गर्दैछ । सोको लागि मनोनयनमा परेका सबै खेलाडी तथा प्रशिक्षकलाई मनोनयन प्रमाणपत्र प्रदान गरिसकेको छ ।

मनोनयनमा पर्ने वर्ष खेलाडीहरुमा पुरुषतर्फ अमृत थापा (स्क्वास), रुपक नेपाली (फूल कन्याक्ट कराँते) र युकेश गुरुङ (प्याराग्लाइडिङ) छन् । त्यस्तै, वर्ष खेलाडी महिलातर्फ प्रीति बराल (सफ्ट टेनिस), श्रेया केसी (सुटिङ) र सुष्मी श्रेष्ठ (फूल कन्ट्याक्ट कराँते) छन् ।

वर्ष उदियमान खेलाडी विधातर्फ अनुष्का शेरचन (आर्चरी), अर्जुन कुमाल (क्रिकेट) र सुस्मिता थापामगर (आइटीएफ तेक्वान्दो) तथा वर्ष उत्कृष्ट प्रशिक्षकमा भीमसेन शाक्य (ह्याण्डबल), दीपक गोदार (फूल कन्याक्ट कराँते) र राजेन्द्र पाठक (हक्की) छन् ।

अग्रजको सम्मान गर्ने उद्देश्यले मञ्चले सुरु संस्करणदेखि प्रदान गर्दै आएको लाइफटाइम अचिभमेन्ट अवार्ड यसपालि बक्सिङका चित्रबहादुर गुरुङलाई प्रदान गरिने नै घोषणा भैसकेको छ ।

पपुलर प्लेयर अफ दी इयरको लागि वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष उदियमान खेलाडी विधाका कुल ९ जनामध्ये आफूले चाहेको खेलाडीलाई एसएमएस भोटिङ गर्न सकिने व्यवस्था जारी छ । यस्तै, वर्ष उत्कृष्ट पत्रकारिता अवार्डबाट एकजना पत्रकारलाई र वर्ष उत्कृष्ट खेल संघलाई समेत नगदसहित सम्मान गरिनेछ ।

अवार्डका लागि बतास ब्रदर्श प्रालिको मुख्य प्रायोजनमा हुने कार्यक्रममा यसपालि गण्डकी प्रदेश सरकारले ५ लाख दिने भएको छ । पोखरा महानगरपालिकाले १ लाख ५० हजार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) १ लाख, नेपाल पर्यटन बोर्ड ५० हजार प्रदान गरेको छ । होटल सिटी ईन लेकसाइडले पपुलर प्लेयर अवार्डको लागि २५ हजार दिएका छन् ।

सशस्त्र प्रहरीका पूर्व आइजीपी स्व. सविर थापाका छोरा आशीष थापा (किस्ट अस्पताल संचालक हाल काठमाडौं) ले १ लाख ५ हजार, माता मनकामना कृषि फर्म पोखराका संचालक एवं राखेप सदस्य राजेश गुरुङ र लाहाचोक कृषि फर्मका संचालक ईमानसिंह गुरुङद्वारा संयुक्त रुपमा ५० हजार उक्त कार्यक्रमबीच प्रदान गर्ने कार्यक्रम छ ।
अवार्डका लागि रुपा गाउँपालिका २५ हजार, माननीय सांसद मीना गुरुङ (हङकङ व्युटी ईन्स्टिच्युट प्रालि) २५ हजार, फेदीखोला गाउँपालिका २५ हजार, पोखरा–१० निवासी स्व. हेमबहादुर पुनको स्मृतिमा परिवारबाट २५ हजार सहयोग प्रतिबद्धता जनाएको छ ।

यस्तै, पोखरा कन्क्रिट कन्सर्न प्रालिद्वारा वर्ष उत्कृष्ट प्रशिक्षकको लागि २५ हजार, सांसद राजीव पहारीबाट वर्ष उत्कृष्ट पत्रकारिता अवार्डको लागि २० हजार, हेल्थ अपडेट मासिकबाट वर्ष उत्कृष्ट खेल संघको लागि १५ हजार रुपैयाँ नगद र सामसङ मोवाइल वल्र्ड वाइड कनेक्सनबाट २ थान मोवाइल प्रायोजन भैसकेको छ ।

यस्तै, पोखरा महानगरपालिका वडा ८ बाट १५ हजार तथा कास्की जिल्ला खेलकुद विकास समिति, सहारा क्लब पोखरा, पोखरा वडा ७, पोखरा वडा १३, बुल्म मेन क्लबले जनही १० हजार दिने भएका छन् ।

उता, गुरुङ व्युटी पार्लर एण्ड एकेडेमी प्रालि, सितेसियो कराँते संघ कास्की र मुआथाई संघ कास्कीले समान ५ हजार दिने भएका छन् ।

यसैगरी, क्षेत्रीय खेलकुद विकास समिति पोखरा, कास्कीका अन्य गाउँपालिका, पोखरा वाटर सप्लायर्स, कास्की जिल्ला बास्केटबल संघ, पोखरा खानेपानी संस्थान, पोखरा महानगरपालिकावडा ३ र ५ एन्फा कास्की अध्यक्ष मिलन गुरुङ, चिल्लीबार, माउन्ट व्लू टुरिष्ट होष्टल लगायतले सहयोगको प्रतिबद्धता जनाइसकेका छन् ।

कार्यक्रमको लागि मञ्च अध्यक्ष एकराज गिरीको मूल संयोजकत्वमा विभिन्न १३ उपसमिति तथा प्रतिभा छनोटका लागि मञ्च संस्थापक अध्यक्ष एवं सल्लाहकार रामकृष्ण ज्ञवालीको मूलसंयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो ।