राष्ट्रिय महिला हक्कीको सुरुआती खेलमै गण्डकीको हार

विभागीय आर्मीले गण्डकीलाई ३–० ले हरायो

जनसम्मत
वैशाख १५, २०८१, शनिबार

छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको पहिलो खेलमै गण्डकीले हार व्यहोरेको छ।

गण्डकीले शनिबारदेखि  सुरु प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबसँगको सुरुवाती खेलमै हार व्यहोरेको हो।

धुलिखेल खेल मैदानमा भएको उद्घाटन खेलमा आर्मीसँग गण्डकी प्रदेश ३–० गोल अन्तरले हार्न पुग्यो।

आर्मीको जितमा सिमा खड्का, डम्मरा भट्ट र सरस्वती तामाङले समान १/१ गोलको योगदान गरे।

खेलको २१ औं मिनेटमै सिमाले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन्।

आर्मीका लागि डम्मराले खेलको ५० औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन्।

सरस्वतीले ५६ औं मिनेटमा टिमका लागि तेश्रो गोल गरिन्।

जितसंगै आर्मीले ३ अंक जोडेको छ।

हारसँगै गण्डकी अंकविहिन छ।

अब, गण्डकीले आइतबार बागमति प्रदेससंग आफ्नो दोस्रो खेल खेल्नेछ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको दोस्रो खेलमा लुम्बिनी प्रदेशले अग्रता जोगाउन नसक्दा मधेस प्रदेशसँग १–१ गोलको बराबरीमा चित्त बुझाएको छ।

लुम्बिनीका लागि अनन्या बर्नावालले खेलको ७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्।

मधेसकी आरतीकुमारी महतोले ४० औं मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याइन्।

बराबरी खेलेसँगै लुम्बिनी, मधेश दुवैले समान १/१ अंक बाँडेका छन्।

प्रतियोगिताअन्तर्गत आइतबार ४ खेल हुनेछन्।

पहिलो खेलमा आर्मीले बागमती प्रदेशसँग खेल्दा दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशसँग खेल्नेछ। तेस्रो खेलमा गण्डकीले बागमतीको सामना गर्दा अन्तिम खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिमसँग खेल्नेछ।

प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता छ।
सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ।

प्रतियोगितामा पहिलो हुने टोलीले १ लाख, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार पाउनेछन्।