नेपाललाई ’आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ को अवार्ड

एसोसिएट नेपालले एक वर्षमा मैदानभित्र र बाहिर गरेको कामअनुसार आईसीसीले सो अवार्ड दिएको हो

जनसम्मत
वैशाख १२, २०८१, बुधबार

नेपाल क्रिकेट संघ (क्यान)ले ’आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ जितेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार क्षेत्रीय विजेताहरूको सूची सार्वजनिक गरेको हो।

२१ राष्ट्रहरूलाई सम्मानित गरिने ६ अवार्डमध्ये नेपाल एशिया क्षेत्रअन्तर्गत ’आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ जित्न सफल भएको हो।

अफ्रिकातर्फ यो अवार्ड नामिबिया, अमेरिकातर्फ बर्मुडा, युरोपतर्फ नेदरल्यान्ड्स र पूर्वी एशियातर्फ इन्डोनेशियाले यो अवार्ड जित्न सफल भएको छ।

२१ एसोसिएट राष्ट्रले मैदानभित्र र बाहिर एक वर्षमा गरेको कामअनुसार आईसीसीले मनोनयन गरेको हो।

मनोनयन भएका २१ राष्ट्रहरूलाई क्षेत्रअनुसार डेभलपमेन्ट इनिसिएटिभ अफ द इयर, महिला क्रिकेट इनिसिएटिभ अफ द इयर, डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर, क्रिकेट फर गुड सोशल इम्प्याक्ट इनिसिएटिभ अफ द इयर र उत्कृष्ट अन–फिल्ड अवार्ड (महिला र पुरुष) गरी आईसीसीले ६ विधामा अवार्ड वितरण गरेको हो।