पोखरामा आयोजित दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला सकियो

बेरोजगार २४५ जनालाई रोजगार, एक हजार ८१० जनालाई अवसर

जनसम्मत
वैशाख १२, २०८१, बुधबार

पोखरामा आयोजित दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला सकिएको छ।

श्रम र सीप भएका तर बेरोजगार युवा तथा रोजगारदाता उद्यमीलाई एकै ठाउँमा जोड्ने उद्देश्यले गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित तीन दिने मेला बुधबार सकिएको हो।

गण्डकी प्रदेका मुख्यमन्त्री खगराज अधिकारीले बुधबार एक समारोहबीच समापन गरेका हुन्।

मेलामा रोजगारीका लागि फारम भरेकामध्ये पोखरा महानगरपालिकाका व्यवसाय प्रवद्र्धन केन्द्रका १३ जना, गण्डकी बहुप्राविधिक शिक्षालयका १०५ जना, प्रधानमन्त्री रोजगार कार्यक्रमका ८० जना र आर्थिक विकास महाशाखाका ४७ जनालाई रोजगारी दिइएको जनाइएको छ।

रोजगारी दिइएकामध्ये बालविकास सहजकर्ता प्रविना शाही, प्लम्वर विनय अधिकारी, जेटीजेटीए दीपेन्द्र आचार्य, ईलेक्ट्रिसियन कृष्ण थापामगर र तथ्यांक संकलक रंगिला बास्तोलालाई बुधबार आयोजित मेला समापन समारोहमा नै नियुक्ती पत्र प्रदान गरिएको छ।

त्यस्तै, गण्डकी बहुप्राविधिक शिक्षालयबाट रोजगारी पाएका १०५ जनामध्ये सिभिल ईञ्जिनियर समीक्षा चापागाई र अटोमोवाइलतर्फका दर्शन बराल, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी पाएका ८० जनामध्ये पार्वती नेपाली र आर्थिक विकास महाशाखाबाट रोजगारी पाएका ४७ जनामध्ये कृषि गणक सुन्दर बराल र रेणु रेग्मी तिमिल्सिनालाईपनि बुधबारै नियुक्ती पत्र प्रदान गरेको छ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले रोजगारी पाएकाहरुलाई नियुक्ती पत्र प्रदान गरेका हुन्।

कार्यक्रममा अनुपस्थित अन्य रोजगार पाएकाहरुलाई भने सम्बन्धित कार्यालयबाटै नियुक्ति पत्र प्रदान गर्ने व्यवस्था मिलाइएको थियो।

मेलामा विभिन्न ४० क्षेत्रमा १ हजार ८ सय १० जनालाई रोजगारी दिन सकिने भन्दै उद्यमीबाट फारम उपलब्ध थियो।

मेलामा निशुल्क सीप विकास तालिमका लागि १४६ जना, रोजगारी खोजकर्ता जम्मा २२३ जना, सीप परीक्षणका लागि ४५ ले मात्र फारम भरेका छन्।

तीन दिनसम्म चलेको मेलाको पहिलो दिन ‘उद्यमशिलता रोजगारी र शिक्षा’, दोश्रो दिन स्टार्टअप तथा उद्यमशिलता प्रवद्र्धनमा सार्वजनिक निजी क्षेत्रबीच सहकार्य’ र ‘आन्तरिक श्रम बजार, अवसर र चुनौति’ तथा अन्तिम दिन बुधबार ‘व्यवसाय विकास र लगानीको वातावरण’ विषयमा प्यानल छलफल भएको थियो।

त्यसबाहेक मेलामा ‘एमए चियावाली’ नामक नाटक मञ्चन, सफल उद्यमीको कथा अन्तर्गत पर्यटन व्यवसायी लक्की कार्कीको कथा सुनाउनुका साथै आँट, हिम्मत र जाँगर भए नेपालमै भविष्य छ भन्नेबारेमा उत्प्रेरणात्मक प्रवचन दिइएको थियो।