एसिया कप दुआथलनमा नेपाली सेनाको वर्चश्व

पुरुषतर्फ हिमाल टमटा र महिलातर्फ मञ्जुकुमारी च्याम्पियन

जनसम्मत
वैशाख १६, २०८१, आइतबार

नेपालका हिमाल टमाटा एसिया कप दुआथलनको च्याम्पीयनसीप बनेका छन्।

नेपाल ट्रायथलन एशोसिएसन (एनटीए)को आयोजनामा पोखरामा आयोजित एसियन ट्रायथलन च्याम्पियनसीपको अवसरमा आईतबार भएको दुआथलन प्रतियोगितामा टमाटा प्रथम भएका हुन्।

उनले ५ किलोमिटर दौड, २० किलोमिटर साईक्लिङ र पुनः २.५ किलोमिटर दौडको निर्धारित दूरी ५१ मिनेट २४ सेकेण्डमा पार गर्दै दुवाथलनको च्याम्पियन बनेका हुन्।

ट्रायथलनमा सहभागी अधिकांश विदेशी खेलाडीले मौसमका कारण पोखरा छाडेपछि दुवाथलनमा नेपाली खेलाडीहरुको वर्चश्व रहेको हो।

सोही प्रतिस्पर्धामा नेपालकै नवराज न्यौपानेले १ घण्टा ३ मिनेट ४७ सेकेण्डमा पार गर्दै दोस्रो भए।

लक्ष्मण मल्लले १ घण्टा ४ मिनेट ५८ सेकेण्डमा पार गर्दै तृतीय बने।

रमेश लिम्वुले १ घण्टा ६ मिनेट ५१ सेकेण्डमा पार गर्दै चौथो भए।

च्याम्पियनसीपअन्तर्गत आईतबार नै भएको महिला दुआथलन प्रतियोगितामा पनि नेपाली खेलाडीहरु नै बिजेता बने।

प्रतियोगितामा १ घण्टा १९ मिनेट ४५ सेकेण्डमा निर्धारित दूरी पार गरेकी मञ्जुकुमारी खड्का च्याम्पियन बनिन्।

पुष्पा रोकायाले १ घण्टा २३ मिनेट ३६ सेकेण्डमा दूरी पार गर्दै दोस्रो बनिन्।

प्रमिला धमलाले १ घण्टा २८ मिनेट ३४ सेकेण्डमा दूरी पार गर्दै प्रमिला धमला तेस्रो भइन्।

दुआथलन विजेता अधिकांश खेलाडीहरु विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग आवद्ध रहेको नेपाल ट्रायथलन एशोसिएसन (एनटीए) ले जनाएको छ।