नेपालले टी–२० शुंखलामा वेस्ट इन्डिज ’ए’ लाई ४ विकेटले हरायो

कप्तान रोहित पौडेलले ५४ बलमा १ सय १२ रन बनाएर नेपाललाई विजयी बनाए

जनसम्मत
वैशाख १५, २०८१, शनिबार

वेस्ट इन्डिज ‘ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृंखलामा नेपालले विजयी सुरुआत गरेको छ।

आज (शनिबार) भएको खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ४ विकेटले हरायो।

वेस्ट इन्डिज ‘ए’ ले दिएको २ सय ५ रनको लक्ष्य नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायो।

नेपालका कप्तान रोहितकुमार पौडेलले शतक बनाए।

रोहित ५४ बलमा १ सय १२ रन बनाएर आउट भए।

वेस्ट इन्डिज ‘ए’ का म्याथ्यु फोर्डे र ओबेड मकोएले समान २/२ विकेट लिए।

यसअघि, कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनायो।

वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले सबैभन्दा धेरै ७४ रन बनाए।

यस्तै, एलिक अथान्जीले ४७ रन बनाए।

नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहितकुमार पौडेल र अबिनाश बोहराले समान १/१ विकेट लिए।

टी–२० क्रिकेट शृंखलाको दोस्रो खेल भोलि (आइतवार) र तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृंखला खेल्न लागेको हो।

यो शृंखलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ।

वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो।