टी–२० क्रिकेटको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित

योसँगै ५ खेलको टी–२० क्रिकेट शृंखलामा १/१ को बराबरी भएको छ

जनसम्मत
वैशाख १६, २०८१, आइतबार

वेस्ट इन्डिज ‘ए’ टोलीसँगको दोस्रो टी–२० क्रिकेटमा नेपाल १० रनले पराजित भएको छ।

‘वेस्ट इन्डिज ’ए’ ले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रनमात्र बनाउन सक्यो।

नेपालका कप्तान रोहितकुमार पौडेलले नट आउट ७१ रन र गुल्सन झाले २६ रन बनाए पनि अन्य ब्याटरले साथ दिन सकेनन्।

वेस्ट इन्डिज ‘ए’ का ओबेड मकोए र गुदाकेश मोटीले समान २/२ विकेट लिए।

यसअघि, कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रन बनायो।

वेस्ट इन्डिज ’ए’ का आन्द्रे फ्लेचरले सबैभन्दा धेरै ४३ रन बनाए।

यस्तै, गुदाकेश मोटीले ८ बलमा नट आउट ३३ रन बनाए।

नेपालका सागर ढकाल र कुशल भुर्तेलले समान २/२ विकेट लिए।

यस्तै, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए।

योसँगै ५ खेलको टी–२० क्रिकेट शृंखलामा १/१ को बराबरी भएको छ।

हिँजो (शनिबार) भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले हराएको थियो।

टी–२० क्रिकेट शृंखलाको तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग ५ खेलको शृंखला खेल्न लागेको हो।

यो शृंखलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ।

वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो।