राष्ट्रिय महिला हक्कीमा बागमतीमाथि गण्डकीको गोल वर्षा

गण्डकीको जितमा ज्योति काफ्लेको ह्याट्रिकसँगै सीतामायाको २ र गीताको १ गोलको योगदान

जनसम्मत
वैशाख १६, २०८१, आइतबार

छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेशले वागमती प्रदेशमाथि गोल वर्षा गराएको छ।

पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी क्लबसँग ०–३ ले हार व्यहोरेको गण्डकीले दोस्रो खेलमा बागमतीलाई फरक गोल अन्तरले हराएको छ।

आफ्नो दोस्रो खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ६–० गोलले हरायो।

गण्डकीका लागि ज्योति काफ्लेको ह्याट्रिकसहित सीतामाया पुनले २ र गीता पुनमगरले १ गोल गरे।

गण्डकी प्रदेशका लागि छैटौँ मिनेटमा सीतामाया पुनले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाइन्।

३६ औँ मिनेटमा गिता पुनमगरले गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाइन्।

३७ औँ मिनेटमा सीतामाया पुनले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै गण्डकीलाई ३–० गोलको अग्रता दिलाइन्।

४५ औँ मिनेटमा ज्योति काफ्लेले व्यक्तिगत पहिलो गोल गरेपछि गण्डकीले ४–० गोलको अग्रता बनायो।

ज्योतिले नै ५३ औँ मिनेटमा गोल गरेपछि गण्डकीले ५–० गोलले अघि बढ्यो।

ज्योतिले नै ५४ औँ मिनेटमा ह्याट्रिक पूरा गर्दै गण्डकीलाई ६–० गोलको जित सुनिश्चित गरिन्।

आइतबार नै भएको अन्य खेलमा विभागीय टोली आर्मी क्लबले जित निकालेको छ।

विभागीय आर्मी क्लबले बागमती प्रदेशलाई ९–० गोलले स्तब्ध बनायो।

आर्मीका लागि सरस्वती तामाङले ४ गोल गरिन्।

सिमा खड्काले २ तथा डम्मरा भट्ट र सुनिता नेगीले समान १/१ गोल गरे।

अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ८–० गोल स्तब्ध बनायो।

सुदूरपश्चिमका लागि सन्जु चौधरीले ह्याट्रिक गरिन्।

नमिता एसके र अनु गिरीले २/२ गोल गरे।

पुर्णिमा उराले १ गोल थपिन्।

यसअघि, आइतबार नै भएको पहिलो खेलमा सुदूरपश्चिम र मधेस प्रदेशले १–१ गोलको बराबरी खेल्यो।

सुदूरपश्चिमका लागि खेलको १४ औँ मिनेटमा सन्जु चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाइन्।

सुदूरपश्चिमले आफ्नो अग्रता अन्तिमसम्म जोगाउन सकेन।

३४ औँ मिनेटमा भुमिका कुमारीले मधेसका लागि गोल फर्काउँदै टिमलाई बराबरीमा राख्न सफल बनिन्।

प्रतियोगितामा ६ टिमको सहभागिता छ।

सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइएको छ।

प्रतियोगिताको विजेता टोलीले १ लाख, उपविजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।