आठौं पोखरा स्पोर्ट्स अवार्डको ४ विधामा मनोनयन सार्वजनिक

वैसाख २८ गते शुक्रबार पोखरा सभागृहमा हुने अवार्ड कार्यक्रमको तयारी तिब्र पारिएको छ

जनसम्मत
वैशाख १७, २०८१, सोमबार

आठौं पोखरा स्पोर्ट्स अवार्डका लागि ४ विधामा मनोनयन सार्वजनिक गरिएको छ।

आयोजक खेलकुद पत्रकार मञ्चले सार्वजनिक गरेको सूचीअनुसार स्पोर्ट्स अवार्डका लागि वर्ष पुरुष खेलाडीमा क्रिकेटका अर्जुन कुमाल,

टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका छन्।

त्यस्तै, वर्ष महिला खेलाडीका लागि आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर मनोनयनमा परेका छन्।

वर्ष खेलाडी पुरुष र महिला हुने खेलाडीले टेल्जीको इलेक्ट्रिक स्कुटर पाउने मञ्चका अध्यक्ष दिननाथ बरालले बताए।

१७ वर्ष मुनिका खेलाडीबीच प्रतिस्पर्धा हुने वर्ष उदीयमान खेलाडीमा क्रिकेटकी ज्योत्स्निका मरासिनी, ब्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की उत्कृष्ट ३ को मनोनयनमा परेका छन्।

उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु परेका छन्।

वैसाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने स्पोर्ट्स अवार्डमा कूल ७ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।

बाँकी विधाहरु ‘लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ वा क्लब र पत्रकारिता अवार्डको घोषणा केही समय पछि सार्वजनिक गरिने मञ्चका महासचिव राजाराम पौडेले जनाए।

‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्राप्त गर्नेले चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाद्वारा सम्मानति हुनेछन्।

वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबले नगद ३५ हजारसहित ट्रफी पाउनेछन्।

उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मञ्चले मनोनयन ट्रफी र प्रमाणपत्र प्रदान गर्नेछ।

मञ्चले स्पोर्ट्स अवार्डलाई बृहत् बनाउन मञ्चका अध्यक्ष बरालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको जनाएको छ।

मूल आयोजक समितिको सह–संयोजकमा मञ्च उपाध्यक्ष श्रेष्ठ छन्।

यसका अलावा विभिन्न ११ उपसमिति गठनका साथै ति उपसमितिहरुको संयोजक र सह–संयोजक समेत तोकिएको छ।

जसअनुसार आर्थिक संकलन उपसमितिको संयोजक मञ्चका कोषाध्यक्ष कविता घर्तीमगर र सह–संयोजक शशीकुमार पौडेललाई जिम्मेवारी दिइएको छ।

प्रचार–प्रसार उपसमितिको संयोजकमा मञ्चका महासचिव पौडेल, सह–संयोजकमा विजय नेपाल र सदस्यहरुमा रिखिराम जिसी, धनबहादुर गुरुङ ‘सुमन’, विजय नेपाली छन्।

अन्तराष्ट्रिय समन्वय उपसमितिको संयोजकमा केशव पाठक र सह–संयोजकमा सुदर्शन रन्जित छन्।

स्वागत–सत्कार उपसमितिको संयोजकमा एकराज गिरी र सह–संयोजकमा फडिन्द्र अकिञ्चन छन्।

स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा मानबहादुर घर्तीमगर र सह–संयोजकमा राम गुरुङ, फोटोग्राफी तथा भिडियोग्राफी

उपसमितिको संयोजकमा उमेश पुन र सह–संयोजकमा बसबहादुर शेर्पा ‘बसन्त’ छन्।

मञ्च व्यवस्थापन समितिको संयोजकमा सन्देश श्रेष्ठ र सह–संयोजकमा धनबहादुर गुरुङ ‘सुमन’, छन्।

साँस्कृतिक कार्यक्रम उपसमितिको संयोजकमा मन क्षत्री र सह–संयोजकमा शुशील नेपाली छन्।

संघसंस्था समन्वय उपसमिति संयोजकमा रोहितराज पराजुली र सह–संयोजकमा कृष्ण दवाडी छन्।

मुल्याकंन तथा अनुगमन उपसमिति संयोजकमा रामकृष्ण ज्ञवाली र सह–संयोजकमा गणेश बराल (ढाकामोहन) छन्।

क्विक रेसपोन्स उपसमिति संयोजकमा राजु गिरी र सह–संयोजकमा अर्जुन गाहामगर ‘सुशान्त’ छन्।

अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकारको विशेष सहयोग गर्नेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ।

पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन्।

स्पोर्ट्स अवार्डलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले प्रबद्र्धन गर्नेछ।

स्पोर्ट्स अवार्डका लागि अफिसियल रिसोर्टको रुपमा पोखराको लेकसाइडमा रहेको ‘मझेरी रिसोर्ट एण्ड स्पा’ रहनेछ।

यसैगरी, पोखराको सहारा क्लबले उदीयमान खेलाडीको पुरस्कार प्रायोजन गरेको छ। ‘टाइगर गुप्र अफ पोखरा नेपाल’सँग उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फको पुरस्कार प्रायोजन गर्ने सम्झौता भएको छ।

यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रालि, सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप÷आभ्या क्लब, कास्कीको मादी गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, बागलुङको निसीखोला गाउँपालिका, बुमराङ रेष्टुरेन्ट लेकसाइड, नेपाल भुतपूर्व खेलाडी मञ्च, गण्डकी प्रदेश क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फ कोर्ष), लक्ष्मी हाउस प्रालि, थ्री सिक्स इञ्जीनियर रेजिमेन्ट एण्ड क्यूजीईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ हर्वल ब्युटी पार्लर, दीपक थापा (हक्की संघ गण्डकी), पोखरा १५ वडा कार्यालयलगायत संघसंस्थाहरु सहयोगी रहनेछन्।

लाइभ पार्टनरमा पब्लिक फोर के टेलिभिजन रहनेछ।

थप सहयोगीको नाम र विवरण आगामी दिनमा जानकारी दिँदै जाने मञ्चले जनाएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका संपूर्ण खेलकुद पत्रकारको साझा संस्था हो।

यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको हो।

देश, संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको हो।

खेल क्षेत्रमा उर्जा थप्न मञ्चले २०७२ सालदेखि निरन्तर हरेक वर्ष ‘पोखरा स्पोर्ट्स अवार्ड’ को कार्यक्रम गर्दै आएको छ।

मञ्चमा हाल ७४ जना पत्रकार आवद्ध छन्।

मञ्चका अध्यक्ष बरालको अध्यक्षतामा भएको पत्रकार सम्मेलन तथा मनोनयन सार्वजनिक समारोहमा मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव पौडेलसमेतले बोलेका थिए।