गण्डकी र विभागीय आर्मी राष्ट्रिय महिला हक्कीको फाइनलमा

गण्डकीले सूदूरपश्चिमाथि पेनाल्टी स्टोकमा २–० र आर्मीले मधेशलाई ६–० ले हराउँदै फाइनल पुग्यो

जनसम्मत
वैशाख १७, २०८१, सोमबार

गण्डकी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधिका लागि फाइनल भिड्ने भएका छन्।

धुलिखेलमा सोमबार भएको सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई पेनाल्टी स्टोकमा २–० गोलले हराउँदै गण्डकीले फाइनलमा स्थान बनाएको हो।

निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी स्टोकमा गएको हो।

पेनाल्टी स्टोकमा गण्डकी बाजी मार्न सफल भयो।

गण्डकीका लागि ज्योति काफ्ले र मेलिना गौचनले गोल गरे।

गण्डकीका सीतामाया बल र शिल्पा डगौराले गोल गर्न सकेनन्।

यता, सुदूरपश्चिमका चारै जना खेलाडीले गोल गर्न सकेनन्।

सुदूरपश्चिमका सन्जु चौधरी, पूर्णिमा नेगी, आशिका एसके र जमुना भट्टराई गोल गर्नबाट चुके।

यसअघि, निर्धारित समयमा गण्डकीका लागि सीता मायाले २ र गीता पुनमगरले एक गोल गरेका थिए।

सुदूरपश्चिमका लागि पूर्णिमा उराउले २ तथा नमिता एसकेले १ गोल गरेका थिए।

सुदूरपश्चिमकी आशिका एसके ‘प्लेअर अफ दि म्याच’ बने।

उता, आर्मीले मधेस प्रदेशलाई ६–० को भारी गोल अन्तरले हरायो।

आर्मीलाई जित दिलाउन सरस्वती तामाङले ह्याट्रिक गरिन्।

डम्मरा भट्टले २ र सीमा खड्काले १ गोल गरे।

आर्मीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेकी निर्मला पाण्डे ‘प्लेअर अफ दि म्याच’ बने।

मंगलबार, गण्डकी र आर्मीबिचको फाइनल खेल हुनेछ।

एउटै समूहमा परेको विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको सुरुआती लिग खेलमा आर्मी क्लबले गण्डकीमाथि ३–० को जित निकालेको थियो।

प्रतियोगिताको विजेता टोलीले १ लाख र उपविजेता टोलीले ७५ हजार रुपैयाँ पाउनेछन्।

तेस्रो हुने टोलीलाई ५० हजार रुपियाँ प्रदान गरिने नेपाल हक्की संघले जनाएको छ ।