‘पोखरा स्पोर्टस् अवार्ड’लाई टाइगर ग्रुपको साथ

ग्रुपले ‘वर्ष उत्कृष्ट खेल संघसंस्था’को पुरस्कार प्रायोजना गर्ने

जनसम्मत
वैशाख १६, २०८१, आइतबार

यही वैशाख २८ गते हुने आठौं संस्करणको पोखरा स्पोर्टस् अवार्डलाई टाइगर ग्रुप अफ पोखरा नेपालले सघाउने भएको छ।
ग्रुपबाट ‘वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लव’तर्फको पुरस्कार स्वरूप ५० हजार सहयोग गर्ने गरी आइतबार समझदारी भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ।

आइतबार पोखरामा टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मा र मञ्चका अध्यक्ष दीननाथ बरालविच उक्त समझदारी–पत्रमा हस्ताक्षर भएको हो।

सो अवसरमा बोल्दै ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले प्रदेशकै गौरव गर्ने कार्यक्रममध्ये एक पोखरा स्पोर्टस् अवार्डलाई सघाउन पाउँदा आफूलाई गौरव महशुस भएको बताए।

उनले भने,‘यो कार्यक्रम हामी खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण छ हामी सामाजिक अभियानमा काम गर्ने संस्थालगायत हरेक क्षेत्रले यसको सफलता मात्रै नभई प्रदेशको गौरव बढाउन समेत सहयोग गर्नुपर्छ।’

उनले अवार्डका लागि सानो सहयोग प्रदान गरी साथ दिन पाउँदा आफूसहित संपूर्ण कार्यसमिति नै हर्षित भएको जनाए।

ग्रुपले विगतदेखि पुरस्कार प्रायोजन गर्दै आएको बताउँदै मञ्चका अध्यक्ष बरालले सहयोगप्रति धन्यवाद व्यक्त गरे।

टाइगर ग्रुपले पोखरामा हरेक वर्ष महिला तथा पुरुष क्लव स्तरिय टाइगर कप राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिता आयोजना गर्दै आएको ग्रुपले विगत वर्षदेखि अवार्डलाई सहयोग गर्दै आइरहेको छ।

अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ।

गण्डकी प्रदेश सरकारको विशेष सहयोग तथा पोखरा महानगरपालिकासँगको सहकार्यमा अवार्ड कार्यक्रम हुँदैछ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रादेशिक कार्यालयले अवार्ड कार्यक्रमको प्रबद्र्धन गर्दैछ।

पोखरा लेकसाइडमा रहेको मझेरी रिसोर्ट एण्ड स्पा अफिसियल रिसोर्टको रुपमा रहेको छ।

यसका अलावा राष्ट्रिय खेलकुद परिषद्, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, कास्कीको मादी गाउँपालिका, रुपा गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिका, बागलुङको निसी खोला गाउँपालिका, मुस्ताङ गल्फ कोर्ष, गुरुङ हर्वल व्युटी पार्लरलगायतले सघाउने भएका छन्।

थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ।

टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमा माई मोटर्स प्रालिले अवार्ड कार्यक्रमलाई सहयोग गर्दैछ।

अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ।

मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।