पत्रकार महासंघ गण्डकी प्रदेश समितिको साधारणसभा

गण्डकी प्रदेश प्रमुख भट्ट भन्छन्, ‘नागरिकलाई सुसूचित गराउन स्वतन्त्र प्रेसको अहम् भूमिका रहन्छ’

जनसम्मत
वैशाख १९, २०८१, बुधबार

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको साधारणसभा बुधबार पोखरामा सम्पन्न भएको छ।

साधारणसभाको अवसरमा अवसरमा पत्रकार महासंघ गण्डकीले प्रदेश मातहतको म्याग्दी जिल्ला शाखालाई उत्कृष्ट जिल्ला शाखाको रुपमा सम्मान गरेको छ।

सो अवसरमा जहाज दुर्घटनामा परी दिवंगत भएका पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष एवं पत्रकार त्रिभुवन पौडेलको परिवारलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेको छ।

सो अवसरमा खेलकुद पत्रकार मञ्च, गण्डकीले दिवंगत पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा स्थापना गरिएको अक्षयकोषका लागि १५ हजार रुपैयाँ प्रदान गरेको छ।

मञ्चका अध्यक्षल दिननाथ बराललगायत पदाधिकारी र सदस्यहरुले नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष नारायण भट्टराईलाई सो रकम हस्तान्तरण गरेको हो।

प्रमुख अतिथि तथा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै नागरिकलाई सुसूचित गराउन स्वतन्त्र प्रेसको अहम् भूमिका रहेको बताएका छन्।

उनले नीर्भिकताका साथ आफ्नो स्वतन्त्रताको उपयोग गर्दै समाजलाई सुसूचित गर्न, सरकारलाई पहरेदारी गर्न नेपाली प्रेस जगतलाई थप प्रेरणा र हौसला मिलोस् भन्ने कामना पनि गरे।

उनले लोकतन्त्र, गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अग्रज पत्रकार तथा पत्रकारिता जगतले खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गरे।

‘नेपाली पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय छ’, प्रदेश प्रमुख भट्टले भने, ‘सामाजिक उत्तरदायित्व बहन गर्दै सत्यको अन्वेषण र तथ्यको संप्रेषण गर्ने जिम्मेवारीलाई आत्मसाथ गरी सत्य, तथ्य, निष्पक्ष, सन्तुलित र मर्यादित रुपमा सूचना प्रवाह गर्नु पत्रकारिताको धर्म र जिम्मेवारी पनि हो।’

उनले प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना भएको उल्लेख गरे।

डिजिटल मिडियाको अत्यधिक सदुपयोग गर्दै पत्रकारिताको विश्वसनियता अभिवृद्धि गर्ने दिशामा पत्रकार स्वयं क्रियाशील हुनेमा विश्वस्त रहेको उनको भनाई छ।

पत्रकारिताका नयाँ आयाम र प्रविधिको प्रयोगबारे पत्रकारलाई दक्ष बनाउनका लागि राज्यको महत्वपूर्ण भूमिका रहने उनले बताए।

प्रदेश प्रमुख भट्टले सत्य तथ्य, विश्वसनीय र भरपर्दो सूचना पाउने नागरिकको नैसर्गिक अधिकारलाई हामी सबैले सम्मान गर्न जरुरी रहेको उल्लेख गरे।

उनले विश्वव्यापी आर्थिक संकटको संवेदनशील घडीमा संचारजगत र पत्रकारिता पेशालाई पारेको असरबारे आफू जानकार रहेको उल्लेख गरे।

आर्थिक संकटले संचार संस्थाहरूको दीगोपनामा समस्या पार्ने खतरा देखापरिसकेको तथा नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या रहेको उनले औल्याए।

नेपाली संचार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक सहकार्य गर्ने वातावरण बनोस् भन्ने शुभेच्छा राखे।

उनले भने, ‘पत्रकारिता क्षेत्रमा म आफै संलग्न रही नजिकबाट चिनेको छु। २०३८ सालमा सुदूर पश्चिमको पहिलो पत्रिका भीम सन्देश त्रैमासिकको संस्थापक सम्पादक भएर पत्रकारिताको अनुभव बटुलेको छु।’

प्रदेश प्रमुख गण्डकी प्रदेशको प्रदेश प्रमुख नियुक्तिपछि पहिलो विधेयक प्रमाणिकरण पत्रकार सम्बन्धित आमसंचार ऐन २०८० रहेको स्मरण गर्दै उनले यो ऐन पत्रकारहरुकै प्रत्यक्ष सहभागिता र आवश्यकताका आधारमा निर्माण भएको उल्लेख गरे।

उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, संचार र सूचनाको हकलाई नेपालको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको बताए।

भट्टले संवैधानिक रूपमै व्यवस्थित गरिएका ती हकहरूको पूर्णरूपमा संरक्षण र कार्यान्वयन गर्दै जिम्मेवार र मर्यादित पत्रकारिताको विकासका लागि प्रतिबद्ध रहेको जनाए।

भट्टले श्रमजीवी पत्रकारको पेशागत अधिकार स्थापित गर्दै संचार संस्था तथा पत्रकारहरुको सबिलकरणको दिशामा काम अघि बढोस् भन्ने कामना पनि गरे।

उनले संपूर्ण श्रमजीवीलाई आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, पर्सी मे ३ मा मनाइने विश्व प्रेस स्वतन्त्रता दिवस र वैशाख २४ गते मनाइने नवौं राष्ट्रिय पत्रकारिता दिवसको शुभकामनासमेत व्यक्त गरे।