राष्ट्रिय सूचना आयोगले १७ औँ स्थापना दिवस मनायो

सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कार प्रदान

जनसम्मत
वैशाख २२, २०८१, शनिबार

राष्ट्रिय सूचना आयोगले आफ्नो १७ औँ स्थापना दिवस मनाएको छ।

२०६५ साल वैशाख २२ मा राष्ट्रिय सूचना आयोगको स्थापना भई सूचनाको हक कार्यान्वयनका लागि आयोगले काम गर्दै आएको छ।

आयोगले सूचनाको हकलाई संघदेखि पालिकासम्म सार्वजनिक निकाय, नागरिक तथा सूचनाको हकका अभियन्तासम्म पुग्नेमा जोड दिएको छ।

१७ औँ स्थापना दिवसका अवसरमा आयोगले सूचनाको हकले शासकीय व्यवस्थामा पारदर्शीता र जवाफदेहिता कायम गर्दै नागरिकको सशक्तीकरणमार्फत् सुशासनको प्रवद्र्धन र लोकतन्त्रको सुदृढीकरणमा योगदान गर्ने उल्लेख गरेको छ।

सार्वजनिक निकायको सूचनाको हकको कार्यान्वयन गरे/नगरेको अनुगमन गर्न संघ, प्रदेश र जिल्लास्तरमा बनाइएका संयन्त्रको प्रभावकारी रुपमा क्रियाशील बनाउन सरकारलाई आयोगले अनुरोध गरेको छ।

नेपालको संविधानको धारा २७ मा सूचनाको हकलाई मौलिक हकका रुपमा स्वीकार गरिएको छ।

तर, सूचना पाउन नसकी आयोगमा पुनरावेदन गर्नेको संख्या बढ्दो छ।

आयोगले पुनरावेदनको संख्या १० हजारभन्दा धेरै नाघेको जनाएको छ।

सूचना माग गर्ने र प्राप्त गर्ने अधिकारको सम्मान र पालना नगर्ने ४० भन्दा धेरै सार्वजनिक निकायका प्रमुखमाथि कारबाही भएको पनि आयोगले जनाएको छ।

आयोगको स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचनाको हकलाई प्रत्याभूति गर्न कानूनमा भएको व्यवस्थाअनुसार आयोगले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रिय सूचना आयोगले आफ्नो स्थापना दिवसको अवसरमा सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कृत गरेको छ।

आयोगले उत्कृष्ट अभियान्ता पुरस्कारबाट विनय कसजु, सिराहा नगरपालिका–७ का परशुराम साह, पोखरा महानगरपालिका–१६ का यदुनाथ बञ्जरा, हेटौंडा उपमहागरपालिका–८ का ईन्दप्रसाद बन्जरा र मेलम्ची नगरपालिका–१० का आदित्य दाहाल पुरस्कृत गरेको छ।

त्यसैगरी, उत्कृष्ट सूचना अधिकारी पुरस्कारबाट पञ्चदेवल विनायक नगरपालिका अछामका ललितबहाुदर बुढा, घ्याङलेख गाउँपालिका सिन्धुलीका किशोरकुमार वाइवा, गल्कोट नगरपालिका बाग्लुङका तुलबहादुर विक, दङ्गीशरण गाउँपालिका दाङका टेकबहादुर खत्री र धनकुटा नगरपालिका धनकुटाका सूचना अधिकारी डम्बर रोगुलाई पुरस्कृत गरेको छ।

त्यस्तै, उत्कृष्ट कर्मचारी पुरस्कारबाट आयोगका शाखा अधिकृत हरिहर कार्की, नायव सुब्बा शान्ता न्यौपाने, लेखापाल लक्ष्मण अर्याल र कम्प्युटर अपरेटर गौरव गुरुङ पुरस्कृत भएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच उनीहरुलाई पुरस्कार प्रदान गरिएको हो।