सहारा क्लब पोखरालाई पोखरा स्पोर्ट्स अवार्डको उत्कृष्ट खेल संघसंस्था, क्लबको सम्मान

क्लबलाई ३५ हजार नगदसहित उत्कृष्ट खेल संघसंस्था, क्लबको अवार्ड ट्रफीद्वारा सम्मान गरिने

जनसम्मत
वैशाख २४, २०८१, सोमबार

सहारा क्लब पोखराले आठौँ ‘पोखरा स्पोर्टस अवार्ड–२०८०’ अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड पाउने भएको छ।

प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै सहारालाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो।

छैटौँ संस्करणसम्म यो विधामा खेल संघलाई मात्र अवार्ड प्रदान गरिदँै आएकोमा सातौँ संस्करणबाट खेल संघ वा क्लबमध्येबाट उत्कृष्ट छान्ने व्यवस्था गरिएको थियो।

यो अवार्ड पाउने सहारा पहिलो क्लब बन्न सफल भएको मञ्चका महासचिव राजाराम पौडेलले जनाए।

अवार्ड पाउन सफल सहारा क्लबको स्थापना २०५५ भाद्र ३० गते पोखरामा भएको हो।

‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने मूल मन्त्रका साथ स्थापित क्लब विदेशसम्म फैलिएको छ।

स्थापनादेखि निरन्तर यो क्लब खेलकुद, शिक्षा र सामाजिक कार्यमा क्रियाशिल रहेको छ।

२०५६ मा पृथ्वीचोकमा सार्वजनिक शौचालय निमार्ण गरेर सामाजिक कार्यको सुरुवात गरेको क्लबले २०५७ मा सहारा कप क्लबस्तरिय लिग कम नकआउट फुटबल प्रतियोगिता संचालन गरेको थियो।

२०५८ सालमा ड्रिम प्रोजेक्टको रुपमा फुटबल एकेडेमी संचालनमा ल्यायो।

एकेडेमीका लागि २०६३ सालमा पोखरा १७ दोविल्लामा २६ रोपनी जग्गा खरिद गरी २०६९ सालमा फुटबल मैदानसँगै भवन निर्माण सम्पन्न गरेको थियो।

हाल, सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमार्फत क्लबले अनाथ तथा असहाय बालकलाई पालनपोषणका साथमा फुटबल समेत प्रशिक्षण गराउँदै आएको छ।

२०६५ सालमा फिफाले सहारा एकेडेमीको डकुमेन्ट्री बनाएको थियो।

जुन डकुमेन्ट्री फिफा फुटबलअन्तर्गत विश्वको अग्रस्थानमा परेपछि वीवीसी, इएसपीएन, स्टार स्पोटर््स, टेन स्पोटर््सलेलगायतका टेलिभिजनले प्रसारण गरेको थियो।

यसैले, विश्वभर क्लबको चर्चा फैलिएको थियो।

२०५८ सालमा क्याराभान गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरेको क्लबले त्यसपछि प्रत्येक वर्ष अन्तर क्लब आमन्त्रित आहा ! रारा फुटबल प्रतियोगिता आयोजना गदै आएको छ।

यसै वर्ष मात्र क्लबले २३ औँ संस्करणको आहा ! रारा फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो।

पोखरा तथा यस आसपासमा फुटबल खेलको रौनकता बढाउन यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

असहज समयमा समेत यस प्रतियोतालाई निरन्तरता दिएको कारण क्लबले फुटबल खेलको क्षेत्रमा अब्बल क्लबको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ।

सहाराले खेल क्षेत्रमा काम गदै आएका पत्रकारहरुको हौसला बढाउन २०६३ सालबाट सहारा खेलकुद पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ।

२०७२ सालको भुकम्पपछि सहारा युके, सहारा हङकङ, अरुण फाउण्डेशनसँगको समन्वयमा गोरखाको घैरुङस्थित श्री गणेश प्राविमा ८ कोठे भवन, सिन्धुपाल्चोक हैबुङस्थित श्री हैबुङ महादेवस्थान माविमा ५ कोठे भवन र कास्कीको सिदिङस्थित सरस्वती आधारभुत विद्यालयमा क्लबले पुननिर्माणको लागि सहयोगसमेत गरेको थियो।

यसका अलावा थुप्रै सामाजिक कार्य र खेल गतिविधिका कारण क्लबले आफ्नो ओज बढाएको छ।

यहीं वैशाख २८ गते शुक्रबार दिउँसोबाट पोखरा सभागृह हलमा आयोजना हुने भव्य कार्यक्रममा क्लबलाई उत्कृष्ट खेल संघसंस्था तथा क्लबको अवार्ड अर्पण गरिनेछ।

अवार्ड कार्यक्रममा वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबसँगै, वर्ष उत्कृष्ट प्रशिक्षक, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव पौडेलले जनाए।