मर्निङ स्टारले चुम्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

प्रतियोगितामा मर्निङस्टारले कूल ४ स्वर्ण, २ रजत र ३ कास्य पदक हात पार्दै उपाधि चुमेको हो

जनसम्मत
जेठ २५, २०७६, शनिबार

पोखरा । अन्नपूर्ण गाउँपालिका सम्पन्न प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मर्निङ स्टार माध्यमिक विद्यालयले जितेको छ ।

तिन दिनसम्म जारी प्रतियोगितामा मर्निङस्टारले कूल ४ स्वर्ण, २ रजत र ३ कास्य पदक हात पार्दै उपाधि चुमेको हो । उपाधिसँगै मर्निङ स्टारले नगद १५ हजार, शिल्ड, कप र प्रमाणपत्र पुरस्कार पाएको छ ।

त्यस्तै उमा माध्यमिक विद्यालयले कुल ४ स्वर्ण, १ रजत र ३ कास्य पदक जित्दै दोस्रो स्थानमा चित्त बुझायो ।उमाले नगद १० हजार, कप र प्रमाणपत्र पुरस्कार पायो । त्यस्तै, दुर्गाभवानी आदर्श आधारभूत विद्यालयले ३ स्वर्ण, २ रजत र २ कास्यसहित तेस्रो भयो । दुर्गाभ वानीले नगद ७ हजार ५ सय साथमा कप र प्रमाणपत्र पायो ।

त्यसैगरी बहादुरे माविले २ स्वर्ण, ५ रजत र ४ कास्य जित्दै चौथो स्थान प्राप्त ग¥यो । मर्निङस्टारले एथलेटिक्समा टिम च्याम्पियन हुदाँ राष्ट्रपति रनिङ शिल्डकै उपाधि आफ्नो नाममा लेखाउन सफल भएको हो । उसले एथ्लेटिक्समा अधिकांश पदक जितेको हो । उमा मावि, दुर्गाभवानी आदर्श आधारभूत विद्यालय र बहादुरे माविले अधिकाशं पदक भने एथ्लेटिक्समै जितेको थियो ।

कवड्डी छात्रातर्फ फाइनल स्पर्धामा सिर्जना माविले अभिमान मेमोरियललाई पराजित गर्दै स्वर्ण पदक जित्यो । उक्त प्रतियोगिताको तेस्रो स्थान भने बालमन्दिर माविले ओगट्यो । छात्रतर्फको स्पर्धामा मेश्रमबराह माविले स्वर्ण, बीरेठाँटी माविले रजत र बालमन्दिर माविले कास्य पदक जितेका छन् ।

यसैगरी, ज्याभलिन थ्रो (भाला) छात्रतर्फको स्पर्धामा उमा मावि दाङसिङले स्वर्ण, धौलाश्री मावि छोमरोङले रजत तथा प्रगतिशील माविले कास्य पदक जितेका छन् । छात्रातर्फको स्पर्धामा भने मर्निङ स्टारकी अस्मिता दाहालले स्वर्ण पदक जित्दा बहादुरे माविकी सीता भुजेलले रजत र बीरेठाँटी माविकी रोशिका विकले कास्य पदक प्राप्त गरे ।

भलिबलतर्फको स्पर्धामा छात्रतर्फ घान्द्रुकको खुम्रोखुँ माविले जित्यो । उसले घान्द्रुककै मेश्रमबराह माविलाई पराजित गरेको हो । बीरेठाँटी माविले भने तेस्रो स्थानमा चित्त बुझायो । छात्रातर्फको भलिबलमा भने बीरेठाँटी माविले स्वर्ण, उमा माविले रजत र अभिमान मेमोरियलले कास्य पदक हात पारेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको आयोजना तथा कास्की जिल्ला खेलुकद विकास समितिको संयोजनमा संचालित उक्त प्रतियोगितामा गाउँपालिकाका कूल १८ माविका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

पदक विजेता खेलाडीहरुलाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, गाउँ शिक्षा अधिकारी बलराम भुगाई, ढिकुरपोखरी युवा सञ्जालका प्रतिनिधि विकास गुरुङ, नेपाल भलिबल संघका केन्द्रीय सचिव डीबी नेपाली तथा कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराललगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कुँवरले प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्घता व्यक्त गरे । उनले बिजयी विद्यार्थी र विद्यालयप्रति बधाईसमेत ज्ञापन गरेका थिए । सो अवसरमा गाउँ शिक्षा अधिकारी बलराम भुगाईसमेतले भनाई राखेका थिए । गाउँपालिका अध्यक्ष कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले संचालन गरेका थिए ।