पत्रकार आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता

पत्रकारको कार्यक्रममा उद्घाटनको फरक शैली

जनसम्मत
जेठ २, २०८१, बुधबार

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता पालनामा सामूहिक प्रतिबद्धता जनाएका छन्।

एक कार्यक्रमबीच सो प्रतिबद्धता जनाउँदै काउन्सिलले जागरण कार्यक्रम सम्पन्न गरेको छ।

मंगलबार भक्तपुरको डोलेश्वरमा काउन्सिलद्धारा आयोजित कार्यक्रमको उद्घाटनमै सबै सहभागीले सामूहिक प्रतिबद्धता जनाएका हुन्।

समाचार संप्रेषण गर्दा पत्रकार आचारसंहिताको पूर्णपालना गर्ने र गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन्।

‘पत्रकार आचारसंंहिताको पूर्ण पालना गर्न र गराउन हामी प्रतिबद्ध छौँ’, उद्घाटनका क्रममा सहभागी सबै पत्रकारले भने।

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुरको समन्वयमा भएको ‘युट्युब, अनलाइनसहित पत्रकारिताका चुनौती र आचारसंहिताका सवाल’ कार्यक्रममा सहभागी विभिन्न समाचार माध्यमका सम्पादक, पत्रकार तथा संचारकर्मीले यस्तो प्रतिबद्धता जनाए।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाचार संप्रेषण गर्ने नाममा पत्रकारलाई गल्ती गर्ने छुट नभएको प्रष्ट पारे।

‘पत्रकारलाई गल्ती गर्ने छुट छैन, मानवीय त्रुटिले कहिलेकाहीँ हुने गल्ती तत्काल सच्याउनुपर्छ, सच्याउने तत्परता हुनुपर्छ, गल्ति गरेको छ/छैन, त्यसको अनुगमन र नियमन काउन्सिलले नियमित गरिरहेको छ’ अध्यक्ष बस्नेतले उल्लेख गरे।

पछिल्लो समयमा छापा माध्यमले पनि युट्युब, अनलाइनमा जानु परेको उनले चर्चा गरे।

बस्नेतले अहिलेको समयमा डिजिटल मिडियाको प्लेटफर्म प्रयोग नगरी धर नभएको तर जुनसुकै मिडियाले पनि अनिवार्य रुपमा आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिए।

राज्यले देशभर मिडिया साक्षरता चलाउनुपर्नेमा उनले जोड दिए।

बस्नेतले भने, ‘डिजिटल साक्षरता अभियान राज्यले देशभर चलाउनु आवश्यक छ। यसका लागि राज्यले बजेट नै छुट्याउनुपर्छ। सीमित स्रोत र साधनले प्रेस काउन्सिलले देशभर मिडिया साक्षरता अभियान चलाएका छौँ। यसका लागि राज्यले पनि सहयोग गर्नुपर्छ। प्रदेश र स्थानीय सरकारले पनि यस्तो अभियानलाई साथ र सहयोग दिएर अगाडि बढाउनु पर्छ।’

बस्नेतले नागरिकले चलाउने सामाजिक सञ्जाल र पत्रकारले चलाउने मिडियाको फरक के हो भन्ने छुट्याउन सक्नुपर्ने बताए।

बस्नेतले यसका लागि पनि प्रत्येक स्थानीय तहसम्म मिडिया साक्षरता अभियान पुग्नुपर्ने औँल्याए।

बस्नेतले युट्युबर, अनलाइन पत्रकारिता र आचारसंहिता विषयमा कार्यपत्र प्रस्तुत गरे।

दर्ता भएका मिडियाको अनुगमन गर्ने दायित्व काउन्सिलको भएकाले आचारसंहिता सबैले पालना गर्नु पर्नेमा बस्नेतको जोड थियो।

कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धमेन्द्र झाले मोबाइलमै युट्युब, अनलाइन मात्रै नभई अहिले टेलिभिजन पनि हेर्न सकिने चर्चा गरे।

काउन्सिलले युट्युबसहितका नयाँ मिडियालाई व्यवस्थित ढंगले नियमन गर्दै आएको झाले बताए।

अन्य निकायले पनि यो काममा सहजीकरण गर्नुपर्ने झाको भनाई थियो।

‘अहिले मिडिया डिजिटलाइज भएको छ। यसो भन्दैमा प्रिन्ट मिडियाको भविष्य सकियो भन्ने होइन। अझै पनि प्रिन्ट मिडिया पर्खेर, कुरेर बस्ने जमात छ’, झाले उल्लेख गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले छापा माध्यम पनि डिजिटलाइज हुँदै गएको बताए।

‘अब फरक ढंगले सोच्नु जरुरी छ। छापा माध्यम पनि डिजिलटाइजमा जानु आवश्यक छ। अब पत्रिकाको वितरण प्रणाली पनि प्रविधिबाटै हुनुपर्छ। पत्रिका कति प्रति बिक्री भयो भन्नुभन्दा पनि पत्रिका कम छापेर त्यसलाई अनलाइन पीडीएफमार्फत धेरै भन्दा धेरै पाठक बनाउनतर्फ ध्यान दिनुपर्छ’, पोखरेलले स्पष्ट पारे।

पत्रकार उज्वल आचार्यले अध्ययनबाट मिडियाको आयको रुपमा २७ वटा विकल्प रहेको चर्चा गरे।

आचार्यले विद्यमान पत्रकारिताका चुनौतीमा कार्यपत्रसमेत प्रस्तुत गरे।

संचार माध्यमको आय स्रोत कमजोर बन्दै जाँंदा त्यससँंग सम्बन्धित सरोकारवालाले विज्ञापनको विकल्प खोज्नुपर्नेमा आचार्यले जोड दिए।

उनले विज्ञापनलाई आय–आर्जनको मुख्य आधार बनाइराख्दा अव संचार माध्यम बाँच्न नसक्ने अवस्था आएको उल्लेख गरे।

उनले नयाँं आयस्रोतका बारेमा सोधखोज गर्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा प्रेस काउन्सिलका पूर्वअध्यक्ष माथवरसिंह बस्नेत, पत्रकार तीर्थ कोइराला, अखण्ड भण्डारी, दुर्गा खनाल, गोपाल खनाल, केदारनाथ कोइराला, मोहन बाँस्तोला, रामकला खड्का, कृष्ण किसी, कौशल भट्टराई, रत्न श्रेष्ठलगायतले अचारसंहिताको पालना र पत्रकारिताको दिगो स्रोतको पहिचान गरी अगाडि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले स्वागत मन्तव्य राखे।

प्रजापतिले समग्र भक्तपुरमा संचालनमा रहेका संचार माध्यमको अवस्थाबारे जानकारी गराए।

पहिलो सत्रको सहजीकरण काउन्सिलका बोर्ड सदस्य ठाकुर बेलबासे र दोस्रो सत्रको सहजीकरण मुख्य अधिकृत झबिन्द्र भुसालले गरेका थिए।