पत्रकार महासंघ कास्कीमा इ–लाइब्रेरी

करीब ५५ लाख रुपैयाँ लागतमा खोलिएको पुस्तकालयमा करीब १५ सय पुस्तकहरु संग्रहित छन्

जनसम्मत
जेठ ११, २०८१, शुक्रबार

नेपाल पत्रकार महासंघ कास्कीले इ–लाइब्रेरी र स्रोत केन्द्र संचालनमा ल्याएको छ।

करीब ५५ लाख रुपैयाँ लागतमा खोलिएको यो पुस्तकालय मुस्ताङचोकस्थित पत्रकार महासंघ कास्कीको कार्यालय भवनभित्र खोलिएको हो।

पुस्तकालय निर्माणमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आर्थिक सहयोग रहेको पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले बताएकी छिन्।

महासंघ शाखा अध्यक्ष विमला भण्डारीले पत्रकारको क्षमता अभिवृद्धिसँगै ज्ञान र सूचनामा सहज पहुँचका लागि यो स्थापना गरिएको बताइन्।

उनले भनिन्, ‘लामो समयदेखिको हाम्रो सपना पूरा हुनु गौरवको विषय हो। महासंघ कास्कीमा अग्रजले देखेको सपना पूरा गर्न पहिलो पल्ट थालिएको यो अभ्यास हाम्रो ३ वर्षे कार्यकालको सबैभन्दा ठूलो र महत्वपूर्ण उपलब्धी हो भन्ने हामीले ठानेका छौं।’

यसलाई डिटिजल पुस्तकालय बनाउँदै आगामी दिनमा सार्वजनिक पुस्तकालयकै रुपमा संचालन गर्ने महासंघको भावी योजना रहेको भण्डारीले सुनाइन्।

घट्दै गएको पठन संस्कृति विकासमा सघाउ पुग्ने भण्डारीको विश्वास छ।

उनले थपिन्, ‘जिल्ला–जिल्लामा रहेका पत्रकार महासंघका कार्यालयमा पनि पुस्तकालय स्थापनाको क्रम बढ्दो छ। हाम्रा पूर्वजबाट सुरु पुस्तकालय निर्माणको वर्षौदेखिको सपनामा जोडिन पाएकोमा हामी गर्व पनि गर्छौं। यो इ–लाइब्रेरी सम्पूर्ण नै होइन, यो सुरुवातमात्र हो भन्दै अझै सम्बृद्ध बनाउँदै लैजाने काम अबको नेतृत्वबाट हुनेछ।’

भण्डारीकाअनुसार पुस्तकालयमा करीब १५ सय पुस्तकहरु संग्रहित छन्।

लाइब्रेरी स्थापनाका लागि कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकी प्रदेशको ४० लाख र पोखरा महानगरपालिकाको १५ लाखको आर्थिक सहयोग गरी ५५ लाख लागत लागेको छ।

पुस्तकालयको शुक्रबार एक समारोहबीच नेपाल सरकारका प्रथम राष्ट्रपति डा. रामवरण यादवले समुद्घाटन गरे।

उनले मुलुकको आर्थिक संकटको बेलामा पनि महासंघले पुस्तकालय खोलेर महत्वपूर्ण कार्य गरेको भनी प्रशंसा गरे।

उनले पुस्तकालय पत्रकारका लागि ज्ञानगुनका कुरा सिकाउन मद्दत मिल्ने बताए।

डा. यादवले मानिसको जसरी ३ मिनेटसम्म श्वासप्रश्वास बन्द भए उसको मृत्यु हुन्छ, त्यस्तै प्रेस स्वतन्त्रबिना लोकतन्त्र बाँच्न नसक्ने बताए।

गण्डकी प्रदेश पूर्व संचारमन्त्री एवं प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले पुस्तकालय स्थापना गरेर महासंघले उदाहरणीय कार्य गरेको उल्लेख गरे।

उद्घाटन अवसरमा पुस्तकालय सञ्चालनमा सहयोग गर्नेलाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो।