गण्डकीका मुख्यमन्त्री पाण्डेले दोस्रो पटक लिए शपथ

सर्वोच्चले उपधारा (३) मा सबैभन्दा ठूलो दलको नेता मुख्यमन्त्री नियुक्त गर्ने परमादेश जारी गरेको थियो

जनसम्मत
जेठ १६, २०८१, बुधबार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दोस्रो पटक पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

बुधबार साँझ प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको शपथ खुवाएका हुन्।

काँग्रेस संसदीय दलका नेता पाण्डे बुधबार नै मुख्यमन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।

सोमबार सर्वोच्चले ४८ घण्टाभित्र गण्डकीमा संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परामदेश दिएको थियो।

उपधारा (३) मा सबैभन्दा ठूलो दलको नेता मुख्यमन्त्री नियुक्त गर्ने परमादेश जारी गरेको थियो।

सुरेन्द्रराज पाण्डे दोस्रो पटक गण्डकीको मुख्यमन्त्री बनेका हुन्।

गत वर्ष बैशाख १४ गते पाण्डे नेपाली काँग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ सांसंदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

सत्ता समिकरणमा फेरबदल आएपछि माओवादी केन्द्रले पाण्डेलाई दिएको समर्थन फिर्ता लियो।

विश्वासको मत नपाउने निश्चित भएपछि उनले चैत २१ मा प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए।

चैत २५ मा एमाले संसदीय दलका नेता खगराज अधिकारी एमालेका २२, माओवादीका ८ (सभामुख)सहित र नेकपा एकीकृत समाजवादी पार्टीका १ सांसदको समर्थनमा मुख्यमन्त्री भएका थिए।

दोस्रो पटक मुख्यमन्त्री बनेका खगराजको विश्वासको मत असंवैधानिक भएपछि सर्वोच्चले उपाधारा (३) अनुसार सरकार गठनको परमादेश जारी गर्दा सरकार ढलेको हो।