प्रधानसेनापति कप भलिबलमा गण्डकी र आर्मी फाइनल भिड्दै

पहिलो सेमिफाइनलमा विभागीय टोली एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेशले फाइनलमा स्थान बनाएको हो

जनसम्मत
जेठ २५, २०७६, शनिबार

पोखरा । चौथो प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले फाइनलमा स्थान बनाएको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा विभागीय टोली एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेशले फाइनलमा स्थान बनाएको हो ।

गण्डकीले एपीएफलाई २५–२३, २१–२५, २५–२३, २९–२७ को सेटमा पाखा लगायो । गण्डकीले फाइनलमा विभागीय आर्मीसँग उपाधिका लागि फाइनल खेल्नेछ । समूह ‘बी’को उपविजेता बनेको गण्डकीले समूह ‘ए’को विजेता एपीएफसँग सेमिफाइनल खेलेको थियो । प्रतियोगिताको फाइनलमा घरेलु टोली त्रिभुवन आर्मी र गण्डकी प्रदेश भिड्ने भएका हुन् ।

शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशले एपीएफलाई र आर्मीले नेपाल पुलिस क्लबलाई र समान ३–१ को सेटमा पारजित गरेको थियो ।

लगनखेलस्थित आर्मीको घरेलु कोर्टमा भएको विभागीय डर्बीमा आर्मीले पुलिससँग एक सेट हारेर पनि कमब्याक गर्दै शानदार जित हात पारेको हो । पुलिससँग यसअघि लगातार पाँच प्रतियोगितामा पराजित भएको आर्मीले यस जितपछि पाँच हारको बदला समेत लिएको छ । पुलिसले इटहरी, टाँडी, माँडी, आठौँ राष्ट्रिय खेलकुद र पाथिभरा भलिबलमा आर्मीलाई पराजित गरेको थियो ।

पहिलो सेट पुलिसले २५–१९ ले जित्दै १–० को अग्रता बनाएको थियो । त्यसपछि भने घरेलु दर्शक र कोर्टको साथ पाएको आर्मीले लगातार तीन सेट जित्यो ।

दोस्रो सेट ट्राइबेकरमा २८–२६ ले जित्दै खेल बराबरी गरेको आर्मीले तेस्रो सेट पनि ट्राइबेकरमै २६–२४ ले जित्दै २–१ को अग्रता बनायो । अग्रता बनाएपछि चौथो सेट आर्मीले २५–१७ ले सहजै जित निकालेको थियो ।

नेपाली सेनाको आयोजनामा जारी प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले पल्सर मोटरबाइक प्राप्त गर्ने छन् ।