म्याग्दीले जित्यो गण्डकी प्रदेशस्तरीय पुरुषतर्फको बास्केटबल उपाधि

म्याग्दीका सुदिप कार्की ‘मोस्ट म्यालुएबल प्लेयर’ घोषित

जनसम्मत
जेठ १२, २०८१, शनिबार

म्याग्दीको बास्केटबल टिमले गण्डकी प्रदेशस्तरीय बास्केटबल पुरुषतर्फको उपाधि जितेको छ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा शनिबार सम्पन्न पुरुषतर्फको फाइनलमा म्याग्दीले उपाधि जितेको हो।

फाइनल खेलको ओभर टाइममा म्याग्दीले पर्वतमाथि ७८–६८ को स्कोर निकाल्दै उपाधि जित्यो।

निर्धारित समयको खेल दुबै टिमले ६५–६५ को बराबरी स्कोर खेल्दा खेल ओभर टाइमतर्फ धकेलिएको थियो।

ओभरटाइमको खेलमा म्याग्दी बिजयी बन्न सफल भयो।

थपिएको समय ४ मिनेटमा म्याग्दी पर्वतमाथि हावी बन्यो।

म्याग्दीले १३ स्कोर जोड्दै आफ्नो कुल स्कोर ७८ जोड्दा पर्वतले ३ स्कोर जोड्दै ६८ मा सीमित बन्यो।

उपाधि विजेता म्याग्दीले उपाधिसहित नगद ६० हजार रुपैयाँ र उपविजेता पर्वतले ४० हजार ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार जित्यो।

फाइनल खेलमा म्याग्दीका सुदिप कार्की ‘मोस्ट भ्यालुएबल प्लेयर’ बने।

प्रतियोगितामा बिजयी टिम तथा खेलाडीहरुलाई परिषदका सदस्य सचिव श्रीधर शर्मा, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुमप्रसाद गुरुङ, पोखरा महानगरपालिकाका वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्मा, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, परिषदका कार्यकारी सदस्य दिलबहादुर गुरुङलगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरे।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता सुन्दासले फाइनल खेलको शुभारम्भ गरेकी थिइन्।

यसअघि, सेमीफाइनलमा पर्वतले कास्कीलाई ६०–४७ ले म्याग्दीले स्याङजालाई ६७–४० ले पराजित गरी उपाधि नजिक पुगेका थिए।

प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेशअन्तर्गत ८ जिल्लाको सहभागिता थियो।