गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए विश्वासको मत

पाण्डे, संविधानको धारा १६८ को उपधारा ३ अनुसार जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका हुन्

जनसम्मत
जेठ २८, २०८१, सोमबार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिएका छन्।

प्रदेश सभामा मुख्यमन्त्री पाण्डेले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३१ सांसदले पक्षमा मतदान गरेका छन्।

विपक्षमा २८ जनाले मतदान गरे।

माओवादीको चुनाव चिह्न लिएर चुनाव जितेको नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेर पक्षमा मतदान गरेपछि पाण्डेले विश्वासको मत लिएका हुन्।

मुख्यमन्त्री पाण्डेले राखेको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे।

पाण्डेको पक्षमा नेपाली काँग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २, स्वतन्त्रबाट राजीव गुरुङ (दीपक मनाङे) र प्रदेश सभामा माओवादी संसदीय दलमा रहेका देवकोटाले माओवादीको ह्विप विपरित फ्लोर क्रस’ गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन्।

सांसद देवकोटाले फ्लोर क्रस गरेपछि एमाले र माओवादी सांसदहरूले संसदमा केहीबेर नाराबाजीसमेत गरे।

प्रस्तावको विपक्षीमा नेकपा एमाले २२ र माओवादीका ६ सांसदले हस्ताक्षर गरेका हुन्।

नेपाली काँग्रेस गण्डकीका संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८ को उपधारा ३ अनुसार जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।