विभागीय आर्मी राष्ट्रिय पुरुष हक्कीको च्याम्पियन

कर्णाली प्रदेशलाई ७–१ को फरक गोलअन्तरले हराउँदै गण्डकी तेस्रो बन्यो

जनसम्मत
असार १३, २०८१, बिहीवार

विभागीय त्रिभुवन आर्मी क्लब गिरिजा प्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्कीको च्याम्पियन बनेको छ।

पोखरामा सम्पन्न ‘पाँचौ गिरिजा प्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्की च्याम्पियनसीप’ को फाइनलमा अर्को विभागीय नेपाल पुलिसलाई हराउँदै आर्मी क्लब च्याम्पियन बनेको हो।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न फाइनलमा विभागिय टोली नेपाल पुलिस क्लबलाई ५–१ गोलले पराजित गर्दै आर्मी च्याम्पियन बन्यो।

च्याम्पियन भएसँगै आर्मीले नगद ५० हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार जित्यो।

त्यस्तै, उपविजेता पुलिस क्लबले ३० हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार जित्यो।

खेलमा आर्मीका लागि प्रदिप राजंवंशीले ४ गोल गरे भने दिपेन्द्र ऐरले १ गोल गरे।

पुलिसका लागि रोमन रानाले १ मात्र शान्त्वना गोल गरे।

फाइनल खेलमा आर्मीका मनोज चौधरी ‘प्लेयर अफ दि म्याच’ बने।

तेस्रो स्थानका लागि भएको खेलमा घरेलु टोली गण्डकीले कर्णाली प्रदेशलाई ७–१ ले पराजित गर्दै प्रतियोगितामा तेस्रो बनेको छ।

गण्डकीका लागि ‘प्लेयर अफ दि म्याच’ समेत बनेका अशिम बाहकले ३ गोल गर्दा प्रेम विकले २, कुशल नेपाली र पवन परियारले समान १÷१ गोल गरे।

कर्णालीका लागि एक मात्र शान्त्वना गोल जिवन रावतले गरे।

तेस्रो स्थान प्राप्त गरेको गण्डकीले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र जित्यो।

यहि असार १० गतेबाट संचालन भएको प्रतियोगितामा नेपाल आर्मीका दिपेन्द्र ऐर ‘प्लेयर अफ दि टुर्नामेन्ट’ बनेका छन्।

त्यस्तै, अन्य विधागततर्फ सबै उपाधि आर्मीका खेलाडीहरुले हात पारेका छन्।

‘वेष्ट स्कोरर’मा आर्मीका प्रदिप राजवंशी, ‘वेष्ट डिफेन्डर’मा आर्मीकै रोशन चौधरीले हात पारे।

त्यस्तै, ‘इमर्जिङ प्लेयर’को ट्रफी भने कर्णाली प्रदेशका शुसान्त रोकायले प्राप्त गरे।

उनीहरुले जनही नगद ५/५ हजार प्राप्त गरे।

बिजेता खेलाडी तथा टिमहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापा, पूर्व सभासद शारदा पौडेल, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्मा, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनलगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरे।

नेपाल हक्की संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा सम्पन्न प्रतियोगिता २ विभागीय टोलीसहित ६ प्रदेशका गरी ८ टिमको सहभागिता रहेको संघकी महासचिब सुवर्ण श्रेष्ठले जनाइन्।

समापन कार्यक्रम संघका अध्यक्ष अनिल शर्माको अध्यक्षतामा भएको थियो।