पुलिसलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि

नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बने

एजेन्सी
जेठ २७, २०७६, सोमबार

काठमाण्डौं ।  विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा मञ्जित श्रेष्ठको नेतृत्वमा रहेको पुलिसले विनोद भण्डारीले कप्तानी गरेको आर्मीलाई चार विकेटले पराजित गर्दै प्रधानमन्त्री कपमा पहिलो पटक उपाधि हासिल गर्न सफल भयो । उपाधिसहित पुलिसले २० लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताको तीनै संस्करणसम्मको खेलमा फाइनल पुगेको आर्मी उपाधिविहीन बन्यो । हारसँगै उपविजेतामा चित्त बुझाएको आर्मीले १० लाख रुपैयाँ पायो । टस जितेर पहिले ब्याटिङ थालेको आर्मीले पुलिसलाई १२६ रनको सामान्य लक्ष्य दिएको थियो । पुलिसले ४० दशमलव ३ ओभरमा छ विकेट गुमाएर विजय लक्ष्य भेट्टायो ।

पुलिसको जीतमा अमित श्रेष्ठले ४० बल खेल्दै २ छक्का र ६ चौकाको मद्दतले सर्वाधिक ४४ रन बनाए । त्यसैगरी, सुनिल धमालाले अविजित ४२ रन जोड्दा कप्तान मञ्जितले अविजित ११ रन जोडे । बलिङतर्फ आर्मीका करण केसीले व्यक्तिगत ३ विकेट लिए । त्यस्तै, शाहव आलमले दुई विकेट लिँदा सुसन भारीले एक विकेट हात पारे ।

पहिले ब्याटिङ गरेको आर्मीको शुरुआत उत्कृष्ट भएपनि त्यसलाई निरन्तरता दिन नसकेपछि हार बेहोर्न बाध्य बन्यो । आर्मी ३३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो । शुरूआती ब्याट्सम्यान सोमपाल कामी र राजु रिजालले पहिलो विकेटका लागि १५ दशमलव ५ ओभरमा ७२ रनको साझेदारी गर्दै ठूलो योगफलको सम्भावना देखाएका थिए । ललितनारायण राजवंशीले सोमपाललाई पवन सरार्फबाट क्याच आउट गर्दै ३५ रनमा पेभिलिएन फर्काएपछि आर्मीको खेलको स्तर खस्किएको थियो ।

सोमपालले ४० बल खेल्दै २ छक्का र ३ चौकाको मद्दतमा ३५ रन बनाएका थिए । राजु रिजालले ३२, भीम सार्कीले २० तथा रोहित पौडेलले १८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । मध्यक्रमका कुनैपनि ब्याट्सम्यानले जिम्मेवार भएर नखेल्दा आर्मी सस्तैमा समेटिन पुगेको थियो । आर्मीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका ललित राजवंशी र पवन शर्राफले समान ४ विकेट लिए । सागर ढकालले एक विकेट हात पारे ।

समूह चरणको खेलमा पनि पुलिसले आर्मीलाई ५० रनले पराजित गरेको थियो । त्यस्तै, यस संस्करणको प्रतियोगितामा पुलिस र आर्मी एउटै समूहबाट फाइनलमा पुगेका थिए । समूह बी मा रहेको पुलिस समूह चरणमा अपराजित रहँदै सेमिफाइनल पुगेको थियो । पुलिसले सेमिफाइनलमा साविक विजेता एपीएफलाई ५ विकेटले पराजित गर्दै फाइनलको यात्र तय गरेको थियो । उता समूह चरणमा पुलिससँग मात्र हार बेहोरेको आर्मीले सेमिफाइनलमा प्रदेश नं ३ लाई १ सय १७ रनले पराजित गरेको थियो ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालिको सहकार्यमा भएको उक्त प्रतियोगिता यही जेठ १० गतेदेखि शुरू भएको थियो । प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी १० टोलीको सहभागिता थियो ।

समूह ‘ए’मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी थिए । समूह ‘बी’मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश सहभागी थिए ।

यसअघि, दुई विभागीय टोली पुलिस र आर्मी उक्त प्रतियोगिताको पहिलो संस्करणमा संयुक्त विजेता बनेको थिए । वर्षाका कारण फाइनल खेल रद्द भएपछि दुवैले ट्रफी बाडेका थिए ।

त्यस्तै, दोस्रो संस्करणको उक्त प्रतियोगितामा पुलिस सेमिफाइनलमा पराजित भएको थियो भने आर्मी फाइनलमा अर्कोे विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग पराजित भएको थियो ।

पुलिसका बलर ललितनारायण बेस्ट प्लेयर

नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बनेका छन् । पुलिसलाई प्रतियोगिताको उपाधि जिताउन मुख्य भूमिका खेलेका ललित सर्वोकृष्ट खेलाडी बन्दै प्लेयर अफ दि टुर्नामेन्ट बनेका हुन् ।

ललितले प्रतियोगिताको ६ खेलमा १ सय २३ रन खर्चेर २० विकेट लिएका थिए । प्लेयर अफ दि टुर्नामेन्टसँगै ललित प्रतियोगिताको उत्कृष्ट बलरसमेत बने । सर्वोकृष्ट खेलाडी बनेका ललितले ५० हजार नगद प्राप्त गरे । उत्कृष्ट बलर बनेका ललितले ३० हजारसमेत प्राप्त गरे ।

आर्मीका राजु रिजाल उत्कृष्ट ब्याट्सम्यान चुनिए । राजुले प्रतियोगितामा ६ खेलमा २ सय ६१ रन बनाएका थिए । उनले ३० हजार प्राप्त गरे । आर्मीकै खड्क बोहरा प्रतियोगिताको उदयमान खेलाडी घोषित भए । उनले १० हजार नगद प्राप्त गरे । प्रतियोगिताको मस्ट भ्यालुएबल प्लेयर पवन सर्राफ चुनिए ।