न्यू डायमण्ड दिदीबहिनी भलिवलको च्याम्पियन

न्यू डाइमण्ड काठमाडौंकी प्रतिमा माली प्रतियोगिताको बेष्ट प्लेयर बनिन्

जनसम्मत
जेठ २७, २०७६, सोमबार

लमजुङ । काठमाडौंको न्यू डायमण्ड एकेडेमीले दोस्रो भोर्लेटार दिदीबहिनी भलिवल कपको च्याम्पियन बनेको छ ।

प्रतियोगिताको फाइनल खेलमा न्यू डायमण्डले पोखराको टप्स आवासीय माविलाई २५–१७, २५–१५ र २६–२४ को सोझो सेटले हराउँदै च्याम्पियन बनेको हो ।

उपाधिसँगै न्यू डायमण्डले ५० हजार र उपविजेता टप्स माविले ३० हजार कप मेडल र प्रमाणपत्र हात पारेका छन् । विजयी खेलाडीहरूलाई जिल्ला समन्वय समितिका सदस्य नौबहादुर दुरा र मध्यनेपाल नगरपालिका–६ का वडाध्यक्ष विष्णुभक्त पौडेलले पुरस्कार वितरण गरे ।

न्यू डाइमण्ड काठमाडौंकी प्रतिमा माली प्रतियोगिताको बेष्ट प्लेयर बनिन् । टप्स आमाविका ममता डगौरा बेष्ट सेटर, आयोजक क्लबकी स्मृति दुरा बेष्ट सर्वर, टप्सकी ऋषिसरा बेष्ट लिफ्टर र न्यू डायमण्डकी अञ्जली प्रधान बेष्ट डिफेन्डर बनिन् ।

लमजुङको मध्यनेपाल नगरपालिका–६, स्थित दिदीबहिनी क्लब भोर्लेटारले प्रतियोगिताको आयोजना गरेको हो ।