प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब तेस्रो

प्रतियोगिताको उपाधिका लागि भने साविकको विजेता तथा आयोजक त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ

जनसम्मत
जेठ २७, २०७६, सोमबार

पोखरा । चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब तेस्रो बनेको छ ।

खेलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले तेस्रो हासिल गरेको हो ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा पुलिसले एपीएफलाई २५–१२, १८–२५, २५–२१ र २५–१२ को सेटमा पराजित ग¥यो । तेस्रो भएसँगै पुलिसले ७५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताको उपाधिका लागि भने साविकको विजेता तथा आयोजक त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलमा आर्मीले पुलिस र गण्डकीले एपीएफलाई हराएको थियो ।

प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ । विजेताले ३ लाख प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।