छुवाछुतविरुद्धको महाकाली–मेची पदयात्राका अभियन्ता होमराजलाई मिजार समाजको सम्मान

मिजार समाज नेपाल कास्कीले एक कार्यक्रमबीच आचार्यलाई सम्मान गरेको हो

जनसम्मत
जेठ २७, २०७६, सोमबार

पोखरा । छुवाछुतविरुद्धको महाकाली–मेची पदयात्राका अभियन्ता होमराज आचार्यलाई पोखरामा सम्मान गरिएको छ ।

मिजार समाज नेपाल कास्कीले एक कार्यक्रमबीच आचार्यलाई सम्मान गरेको हो ।

आचार्यले जातीय विभेद र छुवाछुत प्रथा समाजमा अहिलेपनि विद्यमान रहेको चर्चा गरे । संविधानमा दलितका अधिकारलाई प्रत्याभूत गरेपनि अप्रत्यक्ष रुपमा राजनीतिक, सामाजिक, शैक्षिक र सांस्कृतिक ढंगका जातीय विद्यमान रहेको उल्लेख गरे ।

नेपाल अझै पूर्ण राज्य बन्न नसकेको उनको कथन थियो । उनले भने, ‘पूर्ण नागरिक बन्न आर्थिक, राजनीतिक, सामाजिक र शैक्षिक रुपले त्यहाँको नागरिकहरु पूर्ण नागरिक हुनुपर्छ ।’

पूर्व सभासद डीबी नेपालीले जातीय विभेद र छुवाछुत अन्त्य औंल्याए । सवै किसिमको विभेद अन्त्य गर्न सकेमात्रै समुन्नत समाज बन्ने उनको भनाई थियो । जातीय प्रथा उन्मुलनका लागि राज्यलाई दवाव दिन सबैलाई अभियानमा लाग्न उनले आग्रह गरे ।

कार्यक्रममा सनकमान सिकेले दलित मानसिकताबाट माथि उठ्न आग्रह गरे । ‘दलित जाति होइन, अवस्था हो,’ उनले भने, ‘दलित शब्दलाई परिवर्तन गर्नुपर्छ । यो शब्दमै हिनतावोध बोकेको छ ।’

कार्यक्रममा उत्पीडित चेतना समाज फूलबारीकी उपाध्यक्ष हेमा नेपालीलगायतले बोलेका थिए । समाजका अध्यक्ष उमेश सिकेको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सोमबहादुर नेपालीले स्वागत र सचिव शालिकराम नेपालीले संचालन गरेका थिए ।