ओलम्पियन संगीना बैद्यलाई शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानको सम्मान

जनसम्मत
जेठ २८, २०७६, मंगलवार

पोखरा । ओलम्पियन संगीना बैद्य र कराँते खेलाडी प्रदीप थापा सम्मानित भएका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले ओलम्पियन बैद्य र थापालाई सम्मान गरेको हो ।

उनीहरुलाई सभामुख कृष्णबहादुर महरा र पूर्व युवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङले नगद १० हजारसहित सम्मान गरे । सो अवसरमा रेस्लिङ खेलाडी नुवाकोटे टाइगरलाई पनि सम्मान गरिएको थियो ।

तीनै जना खेलाडी नुवाकोटका हुन् । संगीना सन् २००४ मा ग्रीसको एथेन्समा भएको ओलम्पिक खेलकुदमा छनोट चरण पूरा गर्दै सहभागी भएकी थिइन् । उनी छनोट चरण पार गरेर ओलम्पिकमा सहभागी हुने पहिलो नेपाली खेलाडी हुन् ।

सन् १९९६ मा अस्ट्रेलियाको मेलवर्नमा भएको एसियन तेक्वान्दो च्याम्पियनसीपमा संगीनाले स्वर्ण पदक जितेकी थिइन् । एसियाली क्षेत्रमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।

प्रदीप थापाले सन् २०१८ अक्टोबरमा रुसको सेन्ट पिटर्सवर्गमा भएको युरोपियन अल स्टार स्पोर्टस् हाप्किडो च्याम्पियनसीपमा कांस्य पदक जितेका थिए । नुवाकोटे टाइगरले गत मेमा काठमाडौंमा भएको एमकेडब्लु बेल्ट एन्ड रोड च्याम्पियनसीपको उपाधि जितेका थिए ।

शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले आफ्नो आमाबुवाको स्मृतिमा स्थापना गरेको संस्था हो ।