फिफा महिला विश्वकपमा ब्राजिल र इटलीको जित

ब्राजिलले नवप्रवेशी जमैकामाथि ३–० र इटालीले अष्ट्रेलियालाई २–१ गोलले हराएको हो

एजेन्सी
जेठ २८, २०७६, मंगलवार

क्रिस्टियनको ह्याट्रिक मद्दतमा ब्राजिलले नवप्रवेशी जमैकामाथि ३–० को जित दर्ता गर्दै महिला विश्वकपमा सुखद सुरुवात गरेको छ ।
फ्रान्समा जारी विश्वकपको आइतबार राति भएको खेलमा खेलको १५ औं मिनेटमा मिडफिल्डर एन्ड्रेसाको क्रसमा अनमार्क रहेकी क्रिस्टियनले हेडरमार्फत पहिलो गोल गरिन्।

निरन्तर दबाब झेलेको जमैकामाथि क्रिस्टियनले ५० औं मिनेटमा दोस्रो गोल गरेर टोलीलाई दोब्बर अग्रता दिलाइन् । सिक्स यार्ड बक्स नजिकै पाएको अवसरमा जमैकाकी गोलरक्षक सिडनी स्नाइडरलाई बिट गराउँदै क्रिस्टियनले आकर्षक गोल गरेकी थिइन् । त्यस्तै, ६४ औं मिनेटमा क्रिस्टियनले फ्रिकिकमार्फत गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरिन् ।

खेलमा आधा दर्जनभन्दा बढी प्राप्त अवसरलाई ब्राजिलले सदुपयोग गर्न सकेन । ३८ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई एन्ड्रेसाले गोल गर्नबाट चुकिन् । उनको प्रहार जमैकाकी गोलरक्षक स्नाइडरले रोकेकी थिइन् । खेल अवधिभर ब्राजिलका दुई जना खेलाडीले पहेंलो कार्ड पाए । जमैकाको एक जनाले पहेंलो कार्ड पाइन् ।

विश्वकपको समूह चरणको पछिल्लो १५ खेलमा ब्राजिल अपराजित रहेको छ । उसले १३ जित र दुई बरावरी गरेको छ । जितसँगै इटालीलाई गोल अन्तरको आधारमा पछि पार्दै ब्राजिल समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

फ्रान्समा जारी महिला विश्वकपको अर्को खेलमा अष्ट्रेलियाले महत्वपूर्ण ३ अंक गुमाएको छ । समुह ‘सी’ को पहिलो खेलमा अष्ट्रेलियालाई इटालीले २–१ गोलले हराएको हो । स्टेट डु हाइटनमा भएको खेलको २२ औ मिनेटमा अष्ट्रेलियाकी कप्तान सामन्था केरले सुरुवाती अग्रता दिलाएकी थिइन् । इटालीकी कप्तान सारा गामाले केरलाई पेनाल्टी एरिया नजिकै फाउल गरेपछि पाएको अवसरमा केरले गोल गरेकी थिइन् । उनले पेनाल्टी प्रहार गोलरक्षक लाउरा गुइलिएनीबाट रिवाउन्ड भएर आएपछि पुनः प्रहार गर्दै जाली चुमाइन् । पहिलो हाफमा १–० को अग्रता बनाएको अष्ट्रेलियाले खेलको ५६ औ मिनेटमा जवाफी गोल खान पुग्यो । डिफेन्डर क्लेयर पोल्किङहोर्नको गल्तीको फाइदा उठाउँदै बारबारा बोनसाइले खेल बराबरीमा ल्याइन् ।

त्यसपछि खेलमा पहेँलो कार्डको बर्षा भयो। २० मिनेटको अवधिमा इटालीका २ र अष्ट्रेलियाकी एक खेलाडीले पहेँलो कार्ड पाए । ९० मिनेटको अवधिमा बराबरी भएको खेलको इन्जुरी समयमा बारबाराले व्यक्तिगत दोश्रो गोल गरिन् । फ्रि किकमार्फत आएको बललाई हेडरमार्फत जाली चुमाउँदै उनले टोलीको जित शुनिश्चित गराइन् । इटालीले महत्वपूर्ण ३ अंक बटुल्दै समूहको शीर्ष स्थानमा रहन सफल भयो ।