आइसीसी विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई हरायो

लण्डनमा भएको खेलमा भारतले अस्ट्रेलियाविरुद्ध ३६ रनको जित निकालेको हो

एजेन्सी
जेठ २८, २०७६, मंगलवार

इङल्यान्डमा जारी विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत दुई बलिया टोलीको भिडन्तमा भारतले बाजी मारेको छ ।

लण्डनमा भएको खेलमा भारतले अस्ट्रेलियाविरुद्ध ३६ रनको जित निकालेको हो ।

भारतले पहिले ब्याटिङ गरेर ५ विकेट गुमाउँदै ३ सय ५२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले पूरै ५० ओभर खेलेर १० विकेट गुमाउँदै ३ सय १६ रनमा समेटियो । भारतलाई जिताउने क्रममा ब्याटिङतर्फ शिखर धवन र बलिङतर्फ भुवनेश्वर कुमार र जसप्रित बुम्राहले महत्वपूर्ण योगदान दिए । १ सय ९ बलको सामना गरेका शिखर धवनले १६ छक्काको मद्दतमा १ सय १७ रनको शानदार स्कोर गरे ।

बलिङतर्फ भुवनेश्वर र जसप्रितले भारतका लागि समान ३ विकेट लिए । भारतको जितमा कप्तान विराट कोहलीले ७७ बलमा ८२ रनको योगदान दिए । त्यस्तै, हार्दिक पान्ड्याले २७ बलमा ४८ रन बनाए । महेन्द्रसिंह धोनीले १४ बलमा २७ रन बनाएर भारतको पारी उकास्न मद्दत गरे ।

पराजित अस्ट्रेलियाका लागि स्टेभन स्मिथले ७० बलमा सर्वाधिक ६९ रनको योगदान दिए। त्यस्तै, डेभिड वार्नरलले ८४ बलमा ५६ रन बनाए । त्यस्तै, एलेक्स क्यारीले ३५ बलमा ५५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका लागि मार्कुस स्टोनिसको नाममा २ विकेट रह्यो । अन्य तीनजनाले व्यक्तिगत एक÷एक विकेट लिन सफल भए ।