पोर्चुगल ‘युइएफए नेसन्स लिग’ च्याम्पियन

एजेन्सी
जेठ २८, २०७६, मंगलवार

 खेलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्डलाई १–० ले परजित गर्दै युइएफए नेसन्स लिगको आयोजक पोर्चुगल आफै च्याम्पियन बनेको छ ।

पोर्टोमा भएको खेलमा दोस्रो हाफमा गोन्कालो गुइडेसले गरेको गोलले नै पोर्चुगललाई च्याम्पियन बनायो । खेलको ६० औं मिनेटमा बर्नाडो सिल्भाको पासमा गोन्कालोले गोल गरेका थिए ।

पहिलो हाफमा घरेलु टोलीले नेदरल्यान्डलाई दवावमा राखेपनि गोल गर्न असफल भएको थियो । ११ औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोको प्रहार डिफेन्डर ब्लिन्डले विफल पारिदिएका थिए । दोस्रो हाफमा भने नेदरल्यान्डले घरेलु टोलीलाई दवावमा राखेपनि पोर्चुगलको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन ।

सन् २०१६ को युरो कपपछि पोर्चुगल अर्को ठूलो प्रतियोगिता नेसन्स लिगमा च्याम्पियन बन्न सफल भएको हो ।