पोउवासंघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

‘एक पालिका, एक औद्योगिक ग्राम’को अभियानलाई अघि बढाउनुपर्छ

जनसम्मत
असाेज ७, २०८१, सोमबार

पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुुभकामना व्यक्त गरिएको छ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश र जिल्ला कमिटिले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुुभकामना व्यक्त गरेको हो।

नेकपा एमाले गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले पोखरामा सोमबार आयोजित एक कार्यक्रमबीच नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कीसहित पदाधिकारी तथा सदस्यलाई सम्मान गरेका हुन्।

कार्यक्रममा गुरुङले औद्यागिक वस्तु उत्पादनमा जोड दिनुुपर्ने बताए।

‘एक पालिका, एक औद्योगिक ग्राम’को अभियानलाई अघि बढाउनुुपर्ने कुरामा गुरुङले जोड दिए।

कोभिडका कारण प्रभावित अर्थतन्त्रमा पछिल्लो समयमा सकारात्मक सूचकहरू देखिएको उनले बताए।

उनले अर्थतन्त्र केही चलायमानसमेत भएको दाबी गरे।

मुलुकको विकास गर्ने महत्वपूर्ण जिम्मेवारी उद्योग व्यवसायीको काँधमा रहेको उनको भनाई छ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जिबबहादुर कोइरालाले भने, ‘तत्कालीन पञ्चायती व्यवस्थाका समयमा पनि शासकहरूले पोखरा उद्योग वाणिज्य संघले के भन्छ भनेर डराउने अवस्था थियो। त्यो गरिमालाई अहिलेपनि जोगाउनुु जरुरी छ।’

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्षसमेत रहेका कोइरालाले व्यवासयिक हितका लागि संघ कृयाशिल बन्नुुपर्नेमा जोड दिए।

बरिष्ठ पर्यटन व्यवसायी बोबरजंग गुरुङले संकटमा परेको उद्योग तथा व्यवसाय क्षेत्रका समस्या समाधानका लागि साझा अवधारणाका साथ अघि बढ्नुुपर्ने आवश्यकता औंल्याए।

नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्षसमेत रहेका गुरुङले कोरोना कहरपछि पर्यटनसहितका व्यवसायहरू संकटग्रस्त नै रहेको प्रष्ट पारे।

‘धेरै व्यवसायीहरू पलायन भइसकेका छन्’, गुरुङको भनाई छ।

सरकारको व्यवसायमैत्री नीति आवश्यक रहेको उनले बताए।

उनले व्यवसायहरू संकटमा नै रहेको विद्यमान अवस्थामा गण्डकी प्रदेश सरकारले यसअघि संचालन गरेको ‘व्यवसाय जीवन रक्षा कोष’लाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कीले व्यवसायका क्षेत्रमा देखिएका समस्यालाई सबैको सहकार्यमा समाधान गरेर बढ्ने प्रतिबद्धता जनाए।

सबै व्यवसायीलाई समेटेर अघि बढ्ने उनको प्रतिबद्धता थियो।

नेपाल उद्योग तथा व्यवसायी महासंघ जिल्ला कमिटि अध्यक्ष कृष्णप्रसाद तिवारीको अध्यक्षता एवं सचिव धर्ममानसिंह भण्डारीले संचालन गरेको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष भेषराज बराल, पोखरा महानगर कमिटि अध्यक्ष जीवन आचार्य, नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रीय सदस्य उमराज बास्तोला, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, सदस्य ललितबहादुर कुँवरलगायतले बोलेका थिए।