नेपालको राष्ट्रिय भलिबलको प्रशिक्षकमा डच हान एबिङ

सेन्ट्रल जोनमा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्

जनसम्मत
जेठ ३०, २०७६, बिहीवार

पोखरा । नेपाली राष्ट्रिय पुरुष भलिबल टिमलाई प्रशिक्षण दिन नेदरल्याण्ड्सका प्रशिक्षक हान एबिङ नेपाल आउने भएका छन् ।

नेपालमा आयोजना हुन लागेको एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि डच प्रशिक्षक एबिङ नेपाल आउने भएका हुन् ।

नेपाल भलिबल संघका सचिव जगदीश भट्टले अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीभी) प्रशिक्षक एबिङलाई नेपाल पठाउन लागेको जानकारी गराए । प्रशिक्षक एबिङले नेपाली टोलीलाई तीन महिना प्रशिक्षण दिनेछन् । प्रशिक्षक एबिङको संपूर्ण खर्च एफआइभीभीले व्यहोर्ने छ ।

प्रशिक्षक एबिङले नेदरल्याण्डको पुरुष यु–२१ र जर्मनीको महिला यु–२० टिमको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् ।

एसियन भलिबल संघको संयोजनमा आयोजना हुने सेन्ट्रल जोनमा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता साउन ३२ देखि भदौ ८ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको लागि नेपालले मंगलबारबाट क्लोज क्याम सुरु गरेको छ । क्याम्पमा २५ खेलाडी बोलाइएको छ ।