वेष्ट इण्डिज र दक्षिण अफ्रिकाले पनि आइसीसी विश्वकपमा बराबरी खेल्यो

खेलसँगै वेष्ट इण्डिजले ३ खेलमा ३ अंक जोडेको छ, यता, दक्षिण अफ्रिकाले भने ४ खेलपछि पहिलो अंक जोडेको छ

एजेन्सी
जेठ ३०, २०७६, बिहीवार

इङल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वर्षाका कारण दक्षिण अफ्रिका र वेष्ट इण्डिजबीचको खेल पनि नतिजाविहीन बनेको थियो ।

साउथह्याम्पटनमा सोमबार वर्षा बाधक बनेपछि दक्षिण अफ्रिका र वेष्ट इण्डिजको खेल स्थगित भएको थियो ।

टस हारेर दक्षिण अफ्रीकाले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो । वर्षा नरोकिएपछि खेल स्थगित गरिएको थियो । खेल रोकिनुअघि दक्षिण अफ्रिकाले ७ ओभर ३ बलमा २ विकेट गुमाएर २९ रन जोडेको थियो ।

खेल स्थगित भएपछि दुवै टोलीले एक एक अंक बाडेका छन् । यो खेलसँगै वेष्ट इण्डिजले ३ खेलमा ३ अंक जोडेको छ । अघिल्ला २ खेलमा वेष्ट इण्डिजले १ जित र १ हार व्यहोरेको थियो । यता, दक्षिण अफ्रिकाले भने ४ खेलपछि पहिलो अंक जोडेको छ । यसअघि दक्षिण अफ्रिकाले अघिल्ला ३ खेलमा लगातार हार व्यहोरेको थियो ।