असारको १७ देखि २४ सम्म मलेसियामा एसीसी यु–१९ क्रिकेट

नेपालले असार १७ गते म्यानमार, १८ असारमा सिंगापुर र २१ असारमा चीनसँग खेल्नेछ

जनसम्मत
जेठ ३०, २०७६, बिहीवार

पोखरा । एसीसी यु–१९ इष्टर्न रिजनको आगामी असारको १७ देखि २४ सम्म मलेसियामा हुने भएको छ ।

प्रतियोगितामा नेपालसहित मलेसिया, हङकङ, सिंगापुर, थाइल्यान्ड, भुटान, चाइना र म्यानमार गरी ८ टिमको सहभागी रहनेछ । सहभागी ८ टिमलाई २ समुहमा विभाजन गरिएको प्रतियोगिताको समूह ए मा नेपालसहित चीन, म्यानमार, र सिंगापुर समुह छन् । समूह बी मा मलेसिया, भुटान, थाइल्यान्ड र हङकङ छन् ।

प्रतियोगितामा नेपालले असार १७ गते म्यानमार, १८ असारमा सिंगापुर र २१ असारमा चीनसँग खेल्नेछ । प्रतियोगिताको सेमिफाइनल खेल असारको २३ र फाइनल खेल २४ गते हुनेछ ।

यस् अगाडि प्रतियोगिताका विजेता र उपविजेता टिम जुलाई र अगस्टमा श्रीलंकामा हुने यु–१९ एसिया कप र २०२० मा युएइमा हुने यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि छनोट हुने भनिएको थियो ।

तर, दुबै यु–१९ एसिया कपमा इस्टर्न रिजन प्रतियोगिताको विजेता टिम मात्र छनोट हुने भएको छ ।

यससँगै सन् २०१९ र २०२० दुबै पटकको यु–१९ एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, युएई, कुवेत र इस्टर्न रिजनको बिजेता सहभागी हुने भएका छन् । युएई र कुवेत वेष्टर्न रिजनबाट छनोट भएका हुन ।