दक्षिणी अफ्रिकी डी भीलियर्सको प्रस्ताव ढिला आएको कप्तान प्लेसिसको प्रतिक्रिया

आइसीसी एक दिवसीय विश्वकप क्रिकेट हाइलाइट

एजेन्सी
जेठ ३०, २०७६, बिहीवार

दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले सन्यास फिर्ता लिँदै विश्वकप खेल्ने एबी डी भीलियर्सको प्रस्ताव निकै ढिला आएको बताएका छन् ।

विश्वकप अन्तर्गत वेष्ट इण्डिजविरुद्धको वर्षाले प्रभावित खेलपछि बोल्दै कप्तान प्लेसिसले पूर्व कप्तानले प्रस्ताव गरेको भएपनि त्यो निकै ढिला भएको बताए ।

विश्वकपमा दक्षिण अफ्रिकाले लगातार खराब प्रदर्शन गरेपछि पूर्व कप्तान डी भीलियर्सले विश्वकप अघि सन्यास फिर्ता लिंदै टिममा फर्कने प्रस्ताव गरेको खबर बाहिरिएको थियो । डी भीलियर्सले गत बर्ष अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । तर, डी भीलियर्सले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको विश्वकप खेल्ने ईच्छा व्यक्त गरेका थिए ।

सन् २०१८ को मेबाट डी भीलियर्सले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । उनले दक्षिण अफ्रीकाबाट २ सय २८ एक दिवसीय खेलमा ५३ दशमलब ५० को औशतमा ९ हजार ५ सय ७७ रन बनाएका छन् । यस्तै, उनले एक दिवसीयमा सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडीको रेकर्डसमेत बनाएका छन् ।