युरो कप छनोटमा एण्डोरामाथि फ्रान्सले ४–० को जित निकाल्यो

फ्रान्स ४ खेलबाट ९ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लियो

जनसम्मत
जेठ ३०, २०७६, बिहीवार

युरो कप छनोटमा फ्रान्सले एन्डोरामाथि ४–० को जित निकालेको छ ।

मंगलबार राति समुह एच को खेलमा विश्वकप विजेता टिमले सहज जित निकालेको हो । पछिल्लो खेलमा टर्कीसँग पराजित भएपछि मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पले टिममा सात खेलाडी परिवर्तन गरे ।

लयमा देखिएको फ्रान्सका लागि केलियन एम्बाप्पेले ११ औ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । योसँगै उनले करियरको सयौं गोल पूरा गरेका थिए ।

वेन इडरले ३० औ मिनेटमा फ्रान्सको अग्रता दोब्बर पारे । पहिलो हाफको ईन्जूरी समयमा थाउभिनले फ्रान्सलाई ३–० को अग्रता दिलाए । ६० औ मिनेटमा जुमाले फ्रान्सका लागि चौथो गोल गरे ।

फ्रान्स ४ खेलबाट ९ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लियो । एन्डोरा अंकविहिन हुँदै तालिकाको पुछारमा रह्यो । गए रातिनै भएको खेलमा अल्बानियाले माल्डोभालाई २–० ले हराउँदै आइसल्याण्डले टर्कीलाई २–१ ले पाखा लगायो ।

अल्बानिया ६ अंकसहित चौथो, माल्डोभा ३ अंकसहित पाँचौ, आइसल्याण्ड ९ अंकसहित तेस्रो र टर्की समेत ९ अंकसहित समुह एच को दोस्रो स्थानमा छन् ।