ललित फुटबल च्याम्पियनसिप: उद्घाटन खेलबाट एनआरटीको सुखद नतिजा

च्याम्पियनसिप एक साताका लागि स्थगित गरिएको छ

जनसम्मत
जेठ ३०, २०७६, बिहीवार

पोखरा । चौंथो संस्करणको ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिपमा बुधबारदेखि शुरु भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा न्युरोड टिम एनआरटीले विजयी सुरुवात गरेको छ ।

उक्त खेलमा भ्याली च्यासल युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले सुखद सुरुवात गरेको हो । एनआरटीलाई जित दिलाउन रिजन माझी, क्रितिश रत्न छुन्जु, सुजन शर्मा धिताल र विवेक राईले एक÷एक गोल गरे । च्यासलका सिराब लो तामाङले एक गोल फर्काए ।

खेलको पहिलो मिनेट मै रिजनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । खेलको ४४ औं मिनेटमा सिराबको गोलबाट च्यासल खेलमा फर्कियो ।

दोस्रो हाफमा एनआरटीले लगातार ३ गोल गर्न सफल भयो । खेलको ५४ औं मिनेटमा क्रितिशले गोल गर्दै एनआरटीको अग्रता २–१ को बनाए ।

खेलको ८१ औं मिनेटमा सुजनले गोल गर्दै एनआरटीको अग्रता ३–१ को बनाए । त्यसपछि, खेलको ८७ औं मिनेटमा विवेकले गोल गर्दै एनआरटीलाई ४–१ को सहज जितसँगै समूह ‘ए’ को एनआरटीले महत्वपूर्ण ३ अंक जोडेको छ ।

असार ३१ गतेसम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिग कम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा सहभागी टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेतासहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको समूह ए मा हिमालयन शेर्पा क्लब, एनआरटी, संकटा, मच्छिन्द्र र च्यासल युथ क्लब रहेका छन् ।समूह बि मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, फ्रेन्ड्स क्लब र थ्री स्टार क्लब रहेका छन् । यसैगरी, समूह सी मा नेपाल पुलिस क्लब, ब्रिगेड ब्वाइज क्लब, सरस्वती युथ क्लब र जावलाखेल युथ क्लब रहेका छन् ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ । एन्फाका पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा संघले प्रत्येक बर्ष उमेर समूहको प्रतियोगिता आयोजना गर्दै आएको छ ।

च्याम्पियनसिप एक साता स्थगित

चौंथो संस्करणको ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिप एक साताका लागि स्थगित गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार सुरु प्रतियोगिता करिब एक साताको लागि स्थगित गरेको हो । एन्फाले ‘सी’ डिभिजन लिग  छनोट खेल नसकिएको कारण प्रतियोगिता एक साता सरेको जनाएको छ । एन्फाको लिग कमिटिका डिरेक्टर सन्जिब मिश्रले अब असारको ६ गतेबाट प्रतियोगिता नियमित हुने जानकारी गराए ।