धानमन्त्री कप महिला टी–ट्वान्टीको उद्घाटन खेलमा गण्डकी र सुदुरपश्चिमबीच प्रतिस्पर्धा

उद्घाटन खेल असार ४ गते हुनेछ

जनसम्मत
जेठ ३०, २०७६, बिहीवार

पोखरा । असारको ४ गतेदेखि कंचनपुरको महेन्द्रनगरमा प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको शुरु हुँदै छ ।

गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच प्रतियोगिताको उद्घाटन खेल हुने भएको छ । महाकाली स्पोर्टस् सोसाइटीले प्रतियोगिताको आयोजना गरेको हो ।

आयोजक महाकाली स्पोर्ट्स सोसाइटीले बुधबार निकालेको खेल तालिकाअनुसार उद्घाटन खेलमा गण्डकी र सुदुरपश्चिम भिड्ने भएका हुन् । उद्घाटन खेल असार ४ गते हुनेछ ।

प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछ । अर्को खेलमा प्रदेश २ र कर्णाली प्रदेशबीच खेल हुनेछ ।

प्रतियोगितामा ८ महिला टिमको सहभागिता रहनेछ । जसमा सात प्रदेश र एक विभागीय टिम एपीएफको सहभागिता रहनेछ । ८ टोलीलाई २ समूह विभाजन गरिएको छ । समूह ए मा एपीएफ, सुदूरपश्चिम प्रदेश, प्रदेश ५ र गण्डकी प्रेश छन् । यस्तै, समूह बी मा प्रदेश १, प्रदेश २, प्रदेश ३ र कर्णाली प्रदेश छन् ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउने छन् । यस्तै, विधागत रुपमा उत्कृष्ट हुनेले १५/१५ हजार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि ८८ लाख खर्च लाग्ने आयोजकले अनुमान लगाएको छ । जसमा ३५ लाख राष्ट्रिय खेलकुद परिषद (राखेप)ले उपलब्ध गराउने आयोजकले जनाएको छ ।