पोखरा लेडी जेसीजको वार्षिकोत्सवमा जेठको ३१ देखि जेसीज सप्ताह

बालबालिका, महिला र वृद्धाहरुलाई समेटेर जेसीज सप्ताहका कार्यक्रम

जनसम्मत
जेठ ३०, २०७६, बिहीवार

पोखरा । जेठको ३१ गतेदेखि जेसीज सप्ताह हुने भएको छ ।

‘सामाजिक उत्तरदायत्वमा महिला अग्रसरता, प्रभावकारी नेतृत्व आजको आवश्यकता’ भन्ने मूल नारासहित पोखरा लेडी जेसीज–२०१९ को कार्ययोजनामा सप्ताह मनाउन गएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

व्यवसायिक विकास क्षेत्र, व्यक्तिगत विकास क्षेत्र, अन्तराष्ट्रिय विकास क्षेत्र र सामुदायिक विकास क्षेत्रलाई आफ्नो कार्ययोजनामा समेटिएको पोखरा लेडी जेसीजका अध्यक्ष जेसी सपना गिरीले जनाइन् ।

जेसीजले आफ्नो व्यक्तित्व र नेतृत्वमा निखार ल्याउन प्रत्यक्ष समुदायमा गएर सामुदायिक कार्यक्रम गरी जेसीज अभियानलाई बढाउन विभिन्न कार्यक्रमहरु गर्दै आएका छौं,’ अध्यक्ष गिरीले भनिन्, ‘सामाजिक विकास क्षेत्रको जेसीज सप्ताहको कार्यक्रमलाई छुट्टै महत्वपूर्ण कार्यक्रमको रुपमा मनाउन गइरहेको हौं ।’

जेसीज सप्ताह जेठको ३१ देखि असारको ५ गतेसम्म बालबालिका, महिला र बद्धाहरुलाई समेटेर कार्यक्रम गरिने गिरीले बताइन् । वार्षिकोत्सव एवं सप्ताह कार्यक्रमका लागि पोखरा लेडी जेसीज–२०१९ का कार्यकारिणी उपाध्यक्ष जेसी शोभा भुजेललाई मूल संयोजक तोकिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सप्ताहका कार्यक्रममा जेठ ३१ गते पोखरा महानगरपालिका वडा नं ३ को सभाकक्षमा जेसीज सप्ताहको उद्घाटनसहितका प्रतिवेदन तथा प्रस्तावना लेखन तालिमका कार्यक्रमहरु तय गरिएका छन् । आमा समूहहरु र महिला क्षेत्रमा काम गर्दै आएका पदाधिकारी तथा महिलाहरु कार्यक्रमका लक्षित समूह हुन् । कार्यक्रमका लागि पोखरा महानगरपालिका वडा नं ३ को सहकार्यमा हुन लागेको हो । जेसी गायत्री फुँयाललाई कार्यक्रमको संयोजक तोकिएको छ ।

सप्ताहको दोस्रो दिन असार ३२ गते विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कास्कीकोटस्थित बसन्त प्राविमा स्थानीय वासिन्दाका लागि बृहत् निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम तय गरिएको छ । पोखरा महानगरपालिका वडा नं २४ को सहकार्यमा कार्यक्रम गर्न लागिएको हो । जेसी अनिता थापालाई स्वास्थ्य शिविरको संयोजक तोकिएको छ ।

सप्ताहको तेस्रो दिन असारको १ गते सृजनाचोकस्थित गाउँघर क्याफे एण्ड रेष्टुरेन्टमा वडा नं ८ का दिदी वहिनीहरुलाई लक्षित गरी प्रशंसनीय खोज तालिमको आयोजना गरिदैंछ । पोखरा–८ को सहकार्यमा हुने उक्त कार्यक्रमको संयोजक जेसी सुनिता भण्डारीलाई तोकिएको छ ।

सप्ताहको चौथो दिन असारको २ गते विहान ८ बजे पोखराको टुटुङ्गास्थित आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण कार्यक्रम राखिएको छ । जेसी शोभा घर्तिीलाई कार्यक्रमको संयोजक तोकिएको छ ।
जेसीजको पाँचौ दिन असारको ३ गते विहान ९ बजे पोखरा–३३ स्थित सरस्वती टिका माविमा अध्ययनरत फरक क्षमता भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरणको कार्यक्रम छ । जेसी सुनिता भुजेललाई उक्त कार्यक्रमको संयोजक तोकिएको छ ।

सप्ताहको छैटौं दिन असार ४ गते विहान साढे १० बजे पोखरा–५ स्थित वडा सदन मालेपाटनमा एसइईदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई स्वयमको व्यवस्थापन तथा नेतृत्व तालिमको आयोजना गरिएको छ । पोखरा महानगरपालिका वडा नं ५ को सहकार्यमा हुने उक्त कार्यक्रमको संयोजकमा जेसी लक्ष्मी पाण्डेलाई जिम्मा दिइएको छ ।

अन्तिम दिन असार ५ गते बेलुकी ५ बजे पोखराको ड्यामसाइडस्थित होटल स्टेमा कार्यक्रमबीच लेडी जेसीजको वार्षिकोत्सव तथा सप्ताहको विधिवत् समापन गर्ने कार्यक्रम छ । उक्त दिन पोखरा–९, नयाँबजारस्थित नवप्रभात माविमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरणको कार्यक्रम छ । जेसी सुमित्रा कोइराला उक्त कार्यक्रमको संयोजक तोकिएको छ ।